काठमाडौँ । भारतका प्रधान न्यायाधीश डा डीवाई चन्द्राच्युडले पशुपती नाथको दर्शन गरेका छन् । शुक्रवार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणका लागी नेपाल आएका उनले आज बिहान पशुपतिनाथको दर्शन गरेका हुन् । श्रीमतीसहित पशुपतीको दर्शन गर्न पुगेका उनलाई पशुपति क्षेत्र विकास कोष सदस्य सचिव डा. मिलन कुमार थापा लगायत कोषका सम्पुर्ण पदाधिकारीहरुले रुद्री पाठ सहित पुष्पगुच्छा दिएर भब्यताका साथ स्वागत गरेका थिए ।
उनको स्वागतमा काठमाडौ महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष आशा मान संगत सहितका जनप्रतिनिधिहरु समेत सहभागी भएका थिए ।
न्यायाधीश डा चन्द्राच्युडलाई सुरक्षाकर्मीहरुको बाक्लो सुरक्षाकाबिच अन्य दर्शनार्थीहरुलाई दर्शनमा कुनै प्रभाव नपर्ने गरी सहज तरिकाले दर्शक गराईएको थियो । दर्शन पश्चात चन्द्राच्युडले दर्शनका लागी सहज वातावरण मिलाईएकोमा पशुपतिका भट्ट लगायत क्षेत्र विकास कोषलाई धन्यवाद ब्यक्त गरेका छन् । दर्शन पश्चात हर्षित मुन्द्रामा देखिएका उनले पशुपतिनाथको दर्शन गर्न पाउदा आफु धन्य भएको र असीम कृपा मिलेको बताएका छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले मायाको चिनोसंगै पशुपतिको ईतिहासिक सम्पदा नामक पुस्तक दिएर उनलाई विदाई गरेका छन् ।
भारतीय प्रधानन्यायाधीशलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गरेका थिए ।
उनले बाल न्याय समितिले आज शनिबार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ । शनिबर साँझ नेपालका प्रधान न्यायाधीश र भारतका प्रधानन्यायाधीशबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
नेपालका प्रधान न्यायाधीशले भारतको प्रधान न्यायाधीशको सम्मानमा आज रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण दलमा भारतका प्रधान न्यायाधीशसहित उनकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोट मास्टर चेतन अरोरा रहेका छन् । उक्त उच्चस्तरीय भ्रमण दल आइतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
