काठमाडौँ । हारबाट सुरु भएको नेपालको विश्वकप यात्रा हारबाटै समाप्त भएको छ । आजको बंगलादेशसंग भएको खेलमा लज्जास्पद हार व्यहरेसंगै नेपालको विश्वकप यात्रा सकिएको हो ।
प्रमुख हतियार मानिएका कुशल भुर्तेल, दिपेन्द्र ऐरी, रोहीत पौडेल, कुशल मल्ल चल्न नसकेपछि नेपालले खेलेका सबै खेलमा हारै हार व्यहेरेको छ । बलिङमा उत्कृष्ट नेपाली खेलाडी ब्याटिङमा ध्वस्त भए ।
१० बषपछि बंगलादेशसंग जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका नेपाली खेलाडी एकपछि अर्को गरी भकाभक आउट भए । बंगलादेशले दिएको १ सय ७ रनको समान्य लक्ष्य समेत नेपालले पुरा गर्न सकेन । जित्न त के बंगलादेशसंग नेपालले प्रतिस्पर्धा समेत गर्न सकेन ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो ।
नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ। नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेका छन्। नेपालविरुद्धको जितसँगै बंगलादेशले सन् २००९ पछि सबैभन्दा कम योगफल तयार पारेर पनि जित निकाल्ने टोली बनेको छ ।
बंगलादेश अब सुपर ८ मा भारत, अफगानिस्तान, अस्ट्रेलिया रहेको समूह ए मा रहनेछ। बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै ८५ रन बनाउँदा अलआउट भयो ।
