काठमाडौँ । पार्टी सभापति रवि लामिछानेले माहामन्त्री मुकुल ढकालमाथि कारवाहीको डण्डा चलाइसकेका छन् । मुकुललाई रास्वपाले तिन महत्तपुर्ण पदबाट समेत हटाइसकेको छ । हिजै कारवाही भएको केही मिनेटमै मुकुलले भनेका थिए –‘रविको क्लबबाट निष्कासित भएँ, घण्टी बज्न रोकिँदैन बाँकी कुरा भोलि ….।’
बोलीका पक्का मुकुलले आज पत्रकार सम्मेलन गर्दैछन् । उनले पत्रकार सम्मेलनमा रविसहित रास्वपाका केही नेता कार्यकर्ताको भण्डाफोर गर्नेछन् । मुकुलले गर्ने पत्रकार सम्मेलनतिर सबैको ध्यान तानिएको छ । कतै मुकुल रास्वपा छाड्ने त होइन् भन्ने चिन्ता पनि उनका समर्थकमा छ । तर मुकुल रास्वपा छाड्ने मुडमा भने छैनन् किन कि उनले पार्टी भित्रै बसेर संघर्ष गर्ने कुरा हिजै बताइसकेका थिए ।
ढकाल र रास्वपाको नेतृत्वको विवाद छताछुल्ल भएको लामो समय भएको छैन । ढकालले ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदनपछि नै रास्वपामा विवाद उत्पन्न भएको हो । ढकालले पार्टीको अवस्था बारे तयार पारेको प्रतिवेदनबारे केन्द्रीय समितिमा छलफल गर्नुपर्ने, जस्ताको तस्तै सार्वजनिक गर्नुपर्ने र केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने माग राखेका थिए । तर, ढकालको यो मागलाई रविले वास्तै गरेनन् । त्यसपछि ढकालले स्वतन्त्रता खोसिएको भन्दै मुखमा कालो टेप लगाएर गत बुधबारको केन्द्रीय समितिको बैठकमा भाग लिए । ढकालको साङ्केतिक विरोधलाई रास्वपाका कुनै पनि पदाधिकारीले वास्ता गरेनन् ।
उल्टै उनलाई स्पष्टीकरणको मौका पनि नदिई राति अबेर निलम्बन गर्ने निर्णय गरेर बैठक समापन भयो । यति मात्रै होइन, ढकालको प्रतिवेदनमाथि छलफल हुने गरी बोलाइएको केन्द्रीय समिति बैठकमा महामन्त्रीका रूपमा ढकाललाई प्रस्ताव नै पेस गर्न दिइएन । उक्त प्रतिवेदन सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका थिए । त्यसो त, ढकालले आफ्नै निर्णयले मात्रै त्यो समीक्षा तयार पारेका भने होइनन् । उनलाई सभापति रवि लामिछानेले नै प्रतिवेदन लेख्न जिम्मा दिएका थिए । ढ
कालले तयार पारेको प्रतिवेदनमा पार्टी निरन्तर ओरालो लागेको र विवेकशील पार्टी बन्ने दिशामा पुगेको उल्लेख गरेपछि रविलाई त्यो चित्त बुझेन । हुन त, रास्वपामा पारदर्शिता, जबाफदेहिता र स्वतन्त्रताको बारेमा चर्का कुरा हुन्छन् । रास्वपाका सभापति पनि यी विषयमा भाषण गरेर थाक्दैनन् । तर, रास्वपाको मुख्य नेतृत्वको व्यवहारले भने पार्टीमा तानाशाह, र व्यक्तिवादी हाबी भएको मुकुलप्रति रास्वपाले गरेको निर्णयले देखाइदिएको छ । रास्वपामा रविको आलोचना सुन्नै सकस रास्वपा नेतृत्वलाई आलोचना र पार्टीमाथिको प्रश्न त सह्यै नै हुन्न । निष्कासित महामन्त्री ढकालको प्रतिवेदन रविका लागि र रास्वपाका लागि सह्यै हुने कुरै थिएन । त्यसैले त रास्वपाले ढकालको प्रतिवेदनमा समीक्षा नै गर्न चाहेन । बरु पार्टीको वास्तविकता बाहिर ल्याइदिएको भन्दै महामन्त्रीलाई नै पार्टीबाट हटाइ दियो । दु
ई वर्षअघि मात्रै स्थापना भएको रास्वपामा देखिएको यो दृश्यले नयाँ पार्टीमा देखिएको विचलन र अधिनायकवादलाई अङ्गालेको प्रष्ट देखिन्छ । यति मात्रै होइन, रवि र ढकालको सम्बन्ध रास्वपा सरकारमा गएदेखि र रवि सहकारी प्रकरणमा मुछिएदेखि नै चिसिएको थियो । त्यसमाथि ३२ पेज लामो प्रतिवेदनले त रवि र मुकुल एक ठाउँमै बस्न नसक्ने वातावरण बन्यो । विगतमा रविका प्रस्तावमा र काममा मुकुलले साथ दिँदै आएका थिए । सरकारमा जाने निर्णय होस् या अन्य सदस्यमाथिको हस्तक्षेपको कुरा होस् रवि जता उतै मुकुल हुन्थे । तर, एक प्रतिवेदनले नै उनीहरूबिचमा असमझदारी र विवाद उत्पन्न भएको हो ।
रास्वपामा रविको आलोचना गर्नेलाई टिक्न समस्या हुने टिप्पणी भइरहेका बेला रास्वपाले महामन्त्रीलाई नै पार्टीबाट पदमुक्त गरेपछि उक्त टिप्पणीले वास्तविक रूप लिएकोमा दुई मत छैन ।
