काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको छ । दुई महिना अघि घरभित्रै मृत भेटिएका रानाको हत्या गराउनका लागि उनै कै श्रीमतीले भारतीय नागरिकलाई प्रयोग गरेको प्रहरीले जनाएको छ । रानाकी श्रीमती जनककुमारीले बीमाको रकम हत्याउन श्रीमानको हत्या गरेको खुलेको हो ।
उक्त घटनामा संलग्न रहेका मृतक सियाराम रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई प्रहरीले नियन्त्रमा लिई थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएके छ । ‘भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या मैले नै गरकी हुँ ।’ जनककुमारीले बयानका क्रममा प्रहरीसँग भनेकी छिन् ।
सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको डीएसपी जोशी बताउँछन् । सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
