काठमाडौं। विनाशकारी भोटेकोशी बाढीपछि एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाबाट प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भएका छन्। एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गर्दै निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य बनाइएको कम्पनीले जनाएको छ। सुरुमा तीन दिनका लागि दिइएको निःशुल्क सेवा पछि थप सात दिनका लागि विस्तार गरिएको थियो। कम्पनीका अनुसार आइतबारसम्म ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य १ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
बाढी तथा पहिरोका कारण फाइबर लिंकमा क्षति पुग्दा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। तीमध्ये आइतबारसम्म २४ वटा साइट पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। बाँकी तीनमध्ये रसुवाको घट्टेखोला–टिमुरे र नुवाकोटको त्रिशूली–विदुरमा रहेका टावरमा भौतिक क्षति पुगेको आशंका गरिएको छ।
त्यस्तै, संकटको समयमा ग्राहकलाई निरन्तर सम्पर्कमा राख्ने उद्देश्यले एनसेलले लामो समयसम्म ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी वा दुवैतर्फी सेवा बन्द भएका २५ हजारभन्दा बढी सिम पुनः सक्रिय गरिदिएको जनाएको छ। ती ग्राहकले पनि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको सुविधा पाएका छन्। एनसेलका अनुसार यसबाट विपद्को कठिन समयमा प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक समन्वय गर्न सहज भएको छ।
