काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोह यसपटक एउटा पार्टीको औपचारिक कार्यक्रममा मात्र सीमित रहेन, बरु नेपाली राजनीतिको पुस्तान्तरण र दुई चर्चित युवा नेताबीचको रोचक घोचपेचको साक्षी बन्यो । मञ्चमा रहेका विभिन्न राजनीतिक दलका नेताहरु थिए । त्यसमा चर्चामा रहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा ।
कुनै बेलाका घनिष्ठ मित्र, बीचमा कट्टर राजनीतिक शत्रु र अहिले फेरि पुरानो तुष मेटाएर नजिकिँदै गरेका यी दुई नेताको उपस्थिति र वाकपटुताले महाधिवेशनको माहोल नै तताइदियो । भाषणका क्रममा रविले गगनलाई आफूले ‘दोस्रो गुन’ लगाएको बताएपछि दर्शकदीर्घा र राजनीतिक वृत्तमा एउटै प्रश्न उठ्यो— रविले गगनलाई लगाएको पहिलो गुन के थियो ?
रवि र गगनको सम्बन्ध आजको होइन, करिब पच्चीस वर्ष पुरानो हो । अढाइ दशकअघि ‘इमेज’ एफएममा फरक सिफ्टमा कार्यक्रम चलाउने यी दुईबीच त्यतिबेलै ‘दाइ–भाइ’ को साइनो जोडिएको थियो । गगनले रविलाई दाइ भन्थे भने रविले भाइ । रवि पत्रकारितामा चम्किँदै गर्दा गगन राजनीतिमा उक्लिँदै थिए । दुवैले एकअर्कालाई साथ दिन्थे । यही सुमधुर सम्बन्धको परिणाम थियो, २०७९ सालको आम निर्वाचन ।
तर, राजनीतिमा सधैँ घाम मात्र लाग्दैन । जब रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेर सत्तामा पुगे, तब सहकारी ठगी प्रकरणको चर्चा बाहिरियो । तत्कालीन कांग्रेस महामन्त्री गगन थापा रविविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए । उनले सडकदेखि संसद्सम्म रविलाई घेरे, संसदीय छानबिन समितिको माग राखेर सदन तताए । रविले पनि त्यसलाई राजनीतिक प्रतिशोध भन्दै ‘प्रमाण देखाए राजनीति नै छाड्ने’ चुनौती दिए । तर, यो लडाइँले गगनलाई राजनीतिक रूपमा महँगो साबित गरिदियो ।
जनताको ठूलो सहानुभूति रवितिर ढल्कियो । फलतः पछिल्लो गत फागुन २१ को निर्वाचनमा रवि नेतृत्वको रास्वपाले झण्डै दुई तिहाइ जनमतसहित ऐतिहासिक जित निकाल्यो भने गगनले विद्रोह गरेर खडा गरेको ‘नयाँ कांग्रेस’ नराम्ररी पछारियो । विद्रोहीको ताज भिरेर निर्वाचनमा होमिएका गगनले पनि चुनाव हारे । त्यो पनि आफ्नै पुरानो सहकर्मी अम्रेशकुमार सिंहसँग । जो अहिले रास्वपाबाट सांसद छन् ।
समयको चक्रसँगै चुनावपछि भने यी दुईबीचको सम्बन्धले फेरि कोल्टे फेरेको छ । गगनले रविको आलोचना गर्न छाडेका छन् भने रास्वपाको महाधिवेशनमा अतिथिका रूपमा पुगेर पुरानो सम्बन्धलाई नवीकरण गर्ने प्रयास गरेका छन् । सत्तारुढ दलको सभापतिका हैसियतमा रविले बोलाएका सर्वदलीय बैठकहरूमा पनि गगन पुरानो इगो त्यागेर उपस्थित हुन थालेका छन् । यही पृष्ठभूमिमा कांग्रेस महाधिवेशनमा अतिथिका रूपमा पुगेका रविले गगनको त्यो उपस्थितिको गुन तिरे र मञ्चबाटै सुरु भयो रोचक जुहारी ।
माइक समात्नासाथ रविले आफ्नो चिरपरिचित शैलीमा प्रहार गरे । उनले भने, “जय नेपाल ! तर पार्टीवाला होइन है, देशवाला !“ उनको यो सुरुवातले कांग्रेसी पङ्क्तिमै हाँसोको फोहोरा छुट्यो । कांग्रेसको विगतलाई कोट्याउँदै रविले गगनतिर हेरेर झन् कसिलो प्रहार गरे । निष्ठावान् कार्यकर्ताको साटो पैसावाललाई महत्व नदिएको भए, दुर्गमका गरिबलाई छाडेर आफ्नालाई मात्र समानुपातिक नबाँडेको भए आफू पनि कांग्रेस नै हुने उनको भनाइ थियो ।
रवि त्यतिमै रोकिएनन्, उनले गगनलाई लक्षित गर्दै भने, “यदि ५० वर्षमा होइन, ४० वर्षमै सभापति बनिदिएको भए र रुख चिह्न छाडेर अरूको चिह्नमा भोट हाल्न कार्यकर्तालाई उर्दी जारी नगरेको भए… मै पनि कांग्रेस हुन्थेँ होला !“ दर्शकदीर्घालाई जिस्क्याउँदै गत चुनावमा भित्रभित्रै ‘घण्टी’ मा भोट हालेको आवाज आफूलाई आइरहेको बताउँदा माहोल झनै रोमाञ्चक बन्यो । भाषणको अन्त्यमा पार्टीभित्र असन्तुष्ट बनेर उद्घाटनमै नआएका शेरबहादुर देउवा पक्षतिर लक्षित गर्दै रविले सधैँ कचकच गर्नेहरूलाई फकाएर ऊर्जा खेर फाल्नुभन्दा छोडिदिन गगनलाई सुझाव दिए र भने, “ल, मैले गगनजीलाई अर्को गुन लगाइदिएँ !“
यहाँनेर रविले गगनलाई लगाउको पहिलो गुन के थियो भन्ने आँकलन हुन थाmलेको छ । २०७९ सालको आम निर्वाचनमा गगन थापाको निर्वाचन क्षेत्र नं. ४ बाट रास्वपाले उम्मेदवार नै खडा गरेन । गगनलाई चुनाव जित्न सहज होस् भनेर खाली गरिएको त्यही मैदान नै रविले गगनलाई लगाएको ‘पहिलो गुन’ हो भन्ने अनुमान हुन थालेको छ । रविले अहिले घुमाउरो पाराले दिएको सन्देशले पनि यहि संकेत गर्छ ।
रविको यो कसिलो र व्यंग्यात्मक भाषणको जवाफ दिन गगन पनि कम थिएनन् । कार्यक्रमको अन्त्यमा सम्बोधन गर्दै गगनले रविको अभिव्यक्तिको सटिक काउन्टर दिए । रविले कांग्रेसका मतदाताले घण्टीमा भोट हालेको भनी गरेको दाबीलाई उल्ट्याउँदै गगनले भने, “म रविजीलाई भन्न चाहन्छु— हामीले मतदाता मात्र होइन, संसद्भित्र हेर्नुभयो भने तपाईंका ४०–५० जना सांसदहरू नै प्रशिक्षित गरेर पठाएका छौँ !“ रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेतिर संकेत गर्दै गगनले हिजो कांग्रेसकै मञ्चमा ताली बजाउने साथीहरूलाई आफूहरूले नै राम्रा कुरा सिकाएर, तालिम दिएर रास्वपामा पठाइदिएको भन्दै धेरै चिन्ता नगर्न रविलाई आग्रह गरेका थिए ।
