काठमाडौं । नेपालमा पछिल्लो समय स्क्रब टाइफस रोगको सङ्क्रमण डरलाग्दो र तीव्र रूपमा फैलिँदै गएको छ। देशका अधिकांश भूभागमा यस रोगको प्रत्यक्ष असर देखिएसँगै जनस्वास्थ्य क्षेत्रमा चुनौती थपिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार नेपालका कुल ७७ वटा जिल्लामध्ये ७४ वटा जिल्लाहरूमा स्क्रब टाइफसको सङ्क्रमण फैलिसकेको छ, भने यसको सङ्क्रमणबाट अहिलेसम्म देशभर जम्मा १० हजार २ सय १० जना मानिसहरू सङ्क्रमित छन् । सङ्क्रमणकै कारण गम्भीर अवस्थामा पुगेका ४ जना बिरामीले ज्यान गुमाइसकेका छन् । दिनप्रतिदिन सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ, भने आम नागरिकमा त्रासको वातावरण सिर्जना भएको छ ।
महाशाखाले सार्वजनिक विवरणलाई हेर्दा देशैभर यसको प्रभाव देखिए पनि लुम्बिनी प्रदेश सबैभन्दा बढी मारमा परेको छ। लुम्बिनी प्रदेशमा मात्रै हालसम्म २ हजार ८ सय ४८ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ। इो संख्या मुलुकका अन्य भुभागको तुलनमा धेरै हो । त्यसैगरी, सुदूरपश्चिम प्रदेश पनि सङ्क्रमणको उच्च जोखिममा देखिएको छ, जहाँ हालसम्म २ हजार १३ जना सङ्क्रमित फेला परेका छन्। सङ्क्रमणको दर गण्डकी प्रदेशमा १ हजार ८ सय ९५, बागमती प्रदेशमा १ हजार २ सय ८४ र कोशी प्रदेशमा १ हजार १ सय ६० जनामा देखिएको छ। उता, कर्णाली प्रदेशमा ७ सय ५१ जना र मधेस प्रदेशमा सबैभन्दा कम २ सय ५९ जनामा यसको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
सङ्क्रमणको जोखिम देशभर बढ्दै गएपछि स्वास्थ्य महाशाखाले आम सर्वसाधारणलाई यसबाट जोगिन विशेष सावधानी अपनाउन अपिल गरेको छ। विशेषगरी कृषक तथा ग्रामीण भेगका नागरिकहरू जो दैनिक रूपमा खेतबारीको काममा खटिन्छन्, उनीहरू यस रोगको उच्च जोखिममा पर्ने गरेका छन्। महाशाखाले घाँसपात काट्दा, झाडी सफा गर्दा, खेतबारीमा काम गर्दा तथा जङ्गलको छेउछाउमा जाँदा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यस रोगको सङ्क्रमणबाट बच्नका लागि घरबाहिर निस्किँदा वा खेतबारीमा काम गर्न जाँदा पूरै शरीर ढाक्ने लामा बाहुला भएका बाक्ला लुगा र खुट्टामा बुट लगाउन कडा सुझाव दिइएको छ। साथै, बाहिरको काम सकेर घर फर्किएपछि मनतातो पानी र साबुनको प्रयोग गरी शरीर राम्रोसँग पखालेर नुहाउन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार, संक्रमित माइटले टोकेपछि त्यसको ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ र मानिस बिरामी पर्छन्। यद्यपि, यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सामान्यतया सर्दैन। माइटले टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग वा पाप्रा जस्तो घाउ देखिन सक्छ, तर यो लक्षण सबै संक्रमितमा नदेखिन पनि सक्छ।
संक्रमित माइटले टोकेको तुरुन्तै नभई करिब ६ देखि २१ दिनपछि मात्र बिरामीमा लक्षणहरू देखा पर्न थाल्छन्। यसका प्रमुख लक्षणहरू अचानक वा लगातार उच्च ज्वरो आउनु, अत्यधिक टाउको दुख्नु र जाडो भएर शरीर काँप्नु, अत्यधिक शरीर दुख्नु र कमजोरी महसुस हुनु, मांसपेशी तथा जोर्नीहरू दुख्नु, खोकी लाग्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु, पेट दुख्ने समस्या देखिनु, केही बिरामीको शरीरमा रातो दाना वा ¥यास आउनु, लिम्फ नोड अर्थात ग्रन्थि सुन्निनु यसका प्रमुख लक्षण हुन् ।
चिकित्सकहरूका अनुसार यी लक्षणहरू देखा परेमा समयमै यसको पहिचान र उपचार नभएमा यसले गम्भीर रूप लिन सक्छ । साथै यस रोगसम्बन्धी कुनै थप जानकारी आवश्यक परेमा, सल्लाह वा परामर्श लिनुपरेमा सर्वसाधारणले स्वास्थ्य महाशाखाको टोल फ्री कल सेन्टर नम्बर १११५ मा सम्पर्क गर्न सक्ने व्यवस्थासमेत मिलाइएको छ।
