म्यानचेस्टर : म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो घुँडाको चोटसँग लडिरहेका छन् । उनी सो चोटको विशेष परीक्षण गराउन यसै साता बार्सिलोना जाने लागेको एजेन्सीहरूले जनाएका छन् । उनी सोमबार प्रिमियर लिगअन्तर्गत बर्नलीविरुद्धको खेलमा चोटग्रस्त भएका थिए । सो खेलमा सिटीले बर्नलीलाई ५–० कोग विशाल गोलअन्तरले पराजित गरेको थियो । अगुएरो पहिलो रोजाइमा रहेर खेले पनि बेन मिको ट्याकलले चोट लागेपछि उनको स्थानमा ब्राजिलियन फरवार्ड ग्याब्रिएल जेसस मैदान प्रवेश गरेका थिए ।
प्रारम्भिक परीक्षण गर्दा अगुएरोको घुँडामा गम्भीर समस्या देखिएको थियो । चिकित्सकले विस्तृत परीक्षणको आवश्यकता आंैल्याएका कारण उनी उपचारका लागि बार्सिलोना जाने भएका हुन् । चोटपछि उनल सामाजिक सञ्जालमा आफू छिट्टै मैदानमा उत्रने लेखेका छन् । उनले लेखेका छन्, ‘परीक्षणबाट मेरो बायाँ घुँडामा चोट लागेको निश्चित भयो तथापि मेरो मनोबल उच्च छ । म सक्दो छिटोे पुनरागमन गर्ने लक्ष्यसहित मिहिनेत गरिरहेको छु ।’
अगुएरोलाई यसअघि पनि घुँडामा समस्या देखिएको थियो । चोट बल्झिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
