काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनका चेपाङ बस्ती लगायतका क्षेत्रमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरबाट ११ सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।
केएमसी दुवाकोटको प्राविधिक सहयोगमा नीलगिरि बचत तथा ऋण सहकारी संस्था र आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा खैरहनी नगरपालिका–६ मा एक शिविर सञ्चालन भयो । उक्त शिविरमा १ हजार १ सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण र उपचार सेवा प्राप्त गरे ।
यसैगरी, कालिका नगरपालिका–१० स्थित चेपाङ बस्तीको निबुवाटार आधारभूत विद्यालयमा पनि छुट्टै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो। विद्यालय परिसरमै विशेषज्ञ चिकित्सकहरूको टोली पुग्दा स्थानीय चेपाङ समुदायका बासिन्दाले सहज रूपमा सेवा पाएका थिए । शिविरमा चेपाङ समुदायका बिरामीलाई केएमसी दुवाकोटमा उपलब्ध उपचार सेवा निःशुल्क प्रदान गरिने जानकारी दिइएको थियो ।
दुवै शिविरमा बालरोग, हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, छाला तथा यौनरोग, आँखा, दन्त, नाक–कान–घाँटी, मुटुरोग, स्त्रीरोग र मनोरोग लगायतका विशेषज्ञ सेवाहरू उपलब्ध थिए। साथै, रगत तथा पिसाब परीक्षणको सुविधा पनि दिइएको थियो ।
स्वास्थ्य संस्थासम्म पहुँच कठिन रहेको र आर्थिक रूपमा कमजोर चेपाङ समुदायका स्थानीयहरूले आफ्नै बस्तीमा विशेषज्ञ सेवा पाउँदा ठूलो राहत महसुस गरेका छन्। शिविरले रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य परामर्श र आवश्यक परे थप उपचारका लागि सिफारिस गरेको आयोजकले जनाएको छ।
यो प्रकारका शिविरले स्वास्थ्य सचेतना अभिवृद्धिमा पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। केएमसीले देशका विभिन्न दुर्गम तथा विपन्न क्षेत्रमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
