काठमाडौं – प्रतिबद्धता अनुसारको सहयोग प्राप्त भए पूर्वनिर्धारित समयमै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम सम्पन्न हुनेछ । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार तथा विभिन्न व्यक्ति र संघ–संस्थाले गरेको सहयोगको प्रतिबद्धता पूरा गर्ने हो भने रङ्गशाला निर्माणको काम पनि समयमै सकिने धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष तथा रङ्गशाला निर्माण गरिरहेका सीताराम कट्टेल (धुर्मुस) बताउँछन् ।
तीनै तहका सरकारले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने वचन दिए पनि प्रतिबद्धता जनाएअनुसारको सहयोग अहिलेसम्म प्राप्त नभएको सीताराम बताउँछन् । नगरसभाको बैठकले प्रतिबद्धता जनाएको रकम सहयोग गर्ने निर्णय गर्नेमा उनी विश्वस्त छन् ।
जनस्तरबाट बन्ने रङ्गशाला भएकाले तीनै तहका सरकारले सहयोग गर्ने उनको अपेक्षा छ । तर उनले आर्थिक वर्षको अन्त्यमा आइपुग्न लाग्दा पनि सहयोग भने पाएका छैनन् । संघीय सरकारले बजेटमै सम्बोधन गर्ने अपेक्षा गरे पनि बजेट वक्तव्यमा भने रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता समावेश गरिएको छैन ।
सीतारामले बजेटमार्फत सहयोग गर्न आग्रह गरेका थिए ।
सरकार, सहयोगका लागि प्रतिबद्धता जनाएका संघ–संस्था र व्यक्तिबाट सयोग नआए केही समयपछि निर्माण रोकिन सक्ने अवस्था आउने स्रोतको भनाइ छ ।
