धनगढी कोरोना महामारीदेखि ठप्प रहेको धनगढीको साहित्यिक वृत्त पुनः जुर्मुराएको छ। शनिबार धनगढीमा यस क्षेत्रका सक्रिय स्रष्टाहरुको भेलाले साहित्यिक गतिविधिहरुलाई अघि बढाउने निर्णय गरेको हो।
सृजननशील मञ्च, सुदूरपश्चिमको संयोजनमा धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा यस क्षेत्रका चार दर्जन बढी स्रष्टा तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको सहभागितामा साहित्यिक पुनर्जागरण कार्यक्रम सञ्चालन भएको हो ।
यस क्षेत्रका स्रष्टाहरुको पुन:जागरणका लागि ‘स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम’ आयोजना गरिएको थियो।
कार्यक्रममा रचनावाचनका साथै आगामी कार्ययोजनाबारे छलफल समेत भएको छ। कोरोना महामारी अघिसम्म धनगढीमा नियमित रुपमा टिकटमा साहित्यिक कार्यक्रम ‘धनगढी सृजना उत्सव’ तथा ‘नियमित रचनावाचन शृंखला’ सञ्चालन हुँदै आएकोमा कोरोना महामारीका कारण यी कार्यक्रमहरु स्थगित भएका थिए।
अब ती कार्यक्रमहरु पुनः नियमित रुपमा अघि बढाइने सृजनशील मञ्चले जनाएको छ। त्यसबाहेक प्रशिक्षण, प्रकाशन, अन्तरक्रिया लगायतका कार्यक्रमहरु पनि अघि बढाइने संस्थाले जनाएको छ।
