काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ।
श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।
भारतविरुद्ध पनि नेपालले सुरुवातदेखि नै अनुसाशित बलिङ गर्न पर्ने देखिन्छ। यस्तै ब्याटिङमा नेपालले भारतीय बलरविरुद्ध अपनाउनु पर्ने रणनीतिमा ध्यान दिनु पर्नेछ। विशेषगरी नेपाली ब्याटरका लागि तीव्र गतिका बलरको सामना गर्नु चुनौतीपूर्ण हुनेछ।
भारतका तीव्र गतिका बलर जसप्रित बुमराह भने नेपालसँगको खेलमा उपलब्ध हुने छैनन्। उनी व्यक्तिगत कारण भन्दै भारत फर्केका छन्।
नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।
भारतीय टिमः रोहित शर्मा, श्रीयास ऐयर, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, विराट कोहली, अक्षर पटेल, हार्दिक पाण्ड्या, रविन्द्र जदेजा, इशान किशन, सन्जु सामसन, कुलदिप यादव, मोहम्मद शामी।
