हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।
लगातार दोस्रो खेलमा जित निकाल्ने क्रमम नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्यो।
नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो ।
नेपालको जीतमा नायक बनेका अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिए ।
सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए । माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए ।
माल्दिभ्सविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए ।
यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ५ चौका र १ छक्का हिर्काए । गुल्शन झाले पनि समान ३५ रन बनाए । उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का हिर्काए ।
माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा मंगोलियालाई हराएको थियो ।
