काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमबाट अलग बनेका लेग स्पिनर सन्दीप लामिछाने सन्दीप लामीछाने अहिले धार्मिक भ्रमणमा ब्यस्त रहेका छन् । आफुबिरुद्धको बलात्कारको मुद्धा किनारा नलाग्दा मानसिक तनावमा रहेका लामीछाने अहिले बिभिन्न शक्ति पिठहरुको धार्मिक भ्रमण गरिरहेका हुन् ।
ब्यक्तिगत समस्या दर्साउदै उनले अहिले जारी त्रिदेशीय टी २० सिरिजमा नखेल्ने घोषणा गर्दै राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका थिए । उनले प्रतियोगिताअघि राष्ट्रिय टीमबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
उनी आफू कठिन अवस्थाबाट गुज्रिएकाले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टीमबाट अलग भएका थिए यद्यपि नेपालले अब खेल्ने टी २० विश्वकप क्वालिफायरमा भने उनी टीममा जोडिने अपेक्षा गरिएको छ ।
यता नेपालले यूएई र हङकङसँग प्रतियोगिता खेलिरहँदा सन्दीप भने व्यक्तिगत सफरमा छन् । आफ्नो फुर्सदको समय सदुपयोग गर्दै उनी आफन्त भेटघाट र तीर्थाटनमा लागेका छन् । उनले सामाजिक सञ्जालबाट आफ्ना गतिविधिहरुको अपडेट दिइरहेका छन् ।
सन्दीप आठ वर्षपछि आफ्नो मामाघर कुश्मामा पुगे । उनले मामाघरमा हजुरआमा, मामा र माइजूहरुसँगको फोटो पोस्ट गरेका थिए ।
त्यसपछि उनले तनहुँस्थित ढोलबाराही मन्दिर तथा बाग्लुङ कालिका मन्दिर दर्शन गरेको फोटो अपलोड गरेका छन् ।
अदालतमा विचाराधीन मुद्दाका कारण तनावमा रहेका सन्दीप अदालतले लगातार पेशी सारिरहँदा थप तनावमा परेका छन् । यही तनावले गर्दा उनी तत्कालका लागि राष्ट्रिय टीमबाट अलग भएका हुन् ।
उनीबिरुद्धको बलात्कारको मुद्धाको सुनुवाई पटकपटक स्थगित हुँदै आएको छ ।
