काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो हार हो । समूह बी मा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।
तीनमध्ये दुई खेलमा पराजित भएकाले सेमिफाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको छ ।
यूएई दुबई क्रिकेट स्टेडियममा आईतबार नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २९ औं ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
बंगलादेशका लागि जावाद अबरारले सर्वाधिक ५९ र अजिजुल हाकिमले अविजित ५२ रन बनाए ।
नेपालका लागि युवराज खत्रीले चार विकेट लिए पनि फराकिलो हार टार्न सकेनन् । हेमन्त धामीले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपाल ४५।४ ओभरमा १४१ रन बनाएर अलआउट भएको थियो । आकाश त्रिपाठीले ४३ तथा उत्तम मगर र अभिषेक तिवारीले २९–२९ रन बनाए ।
समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
