ओम चावहिल डेन्टलको तेस्रो वार्षिक उत्सवको अवसरमा शाररिक अशक्तता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण गरिएको छ । आज काठमाडौंको काटेश्वरमा रहेको ओम चावहिल डेन्टलको तेस्रो बार्षिक उत्सवको अवसरमा सरस्वती युवा क्लव र प्रहरी प्रभाग कोटेश्वरको सहकार्यमा शाररिक अपाङ्गगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरिएको हो । साथै आज नै सोही कार्यक्रममा रक्तदान र स्वास्थ्य जाँच समेत गरिएको छ ।

कार्यक्रमा बाग्मती प्रदेशका सांसद सुनिल के.सी लगाएत विभिन्न क्षेत्रमा रहेका समाजसेवीको उपस्थिती रहेको थियो । शाररिक अशक्तता भएकाहरुले निशुल्क ह्वीलचियर पाएपछि खुशी लागेको बताएका छन् । हातमा चप्पल लगाएर हात खुट्टाले टेकेर यताउता गर्नु पर्ने आफुहरुको अवस्था भएको र ह्वील चियर पाएपछि सहज हुने उनीहरुको भनाइ छ ।

बाग्मती प्रदेशका सांसद सुनिल के.सीले समाज सेवा गर्नका लागि नै राजनितीमा आएकाले समाजका सवै क्षेत्रमा काम गर्दै आएको बताए । समाजमा फरक क्षमता भएका व्यक्तिहरुको लागि काम गर्न पाउँदा आफुलाई खुसी लाग्ने गरेको उनले बताए । साथै व्यक्तिले समाजमा गरेको योगदानले उसलाई सन्तुष्टि दिने भएकाले समाज सेवा सर्वश्रेष्ठ काम भएको केसीले बताए ।

यस्तै ओम चाबहिल डेण्टल हस्पिटल कोटेश्वर शाखाले तेस्रो वर्ष पूरा गरेको अवसरमा आज रक्तदान तथा स्वास्थ्य जाँच गरेको छ । हस्पिटलका संचालक कृष्ण घिमिरेले यस अवसरमा निः शुल्क रक्तदान तथा स्वास्थ्य जाँच गरिएको जानकारी दिए । ‘सुन्दर मुस्कानको लागि स्वस्थ दाँत’ भन्ने नाराका साथ २०७५ सालमा चाबहिल चोकमा स्थापना भएको ओम चाबहिल डेण्टल हस्पिटलले २०७८ सालमा कोटेश्वरमा शाखा विस्तार गरेको थियो ।

