काठमाडौँ । सार्वजनिक पदको दुरुपयोग गर्दै डान्स बारमा युवतीसँग आपत्तिजनक अवस्थामा देखिएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकबहादुर भण्डारीको जागिर खोसिएको छ। मन्त्रीको सचिवालयमा बसेर पदीय मर्यादाविपरीतका क्रियाकलापमा संलग्न भएको भन्दै चौतर्फी आलोचना र चर्को दबाबपछि मन्त्रालयले उनलाई पदमुक्त गरेको हो।
केही दिनअघि लोकबहादुर भण्डारीले एक डान्स बारमा युवतीलाई काँधमा उचालेर मस्ती गरिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त तस्बिर सार्वजनिक भएसँगै मन्त्रीको सचिवालयमा रहेका व्यक्तिको आचरण, नैतिकता र गैरजिम्मेवारपनमाथि गम्भीर प्रश्न उठेको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मन्त्री भण्डारीको सचिवालय नै अमर्यादित र छाडा व्यक्तिहरूको अखडा बनेको भन्दै कडा टिप्पणी गरेका थिए।
सार्वजनिक आलोचनाले उग्र रूप लिएपछि मन्त्री दामोदर भण्डारी आफ्नो सचिवालयका सदस्यलाई कारबाही गर्न बाध्य भएका हुन्। मन्त्रालयका उपसचिव एवं मन्त्रीका निजी सचिव सुमन धितालद्वारा हस्ताक्षरित पत्रमा लोकबहादुर भण्डारीलाई पदमुक्त गरिएको स्पष्ट उल्लेख छ।
“माननीय मन्त्रीज्यूको सचिवालयमा रही कामकाज गर्दा गरिएको क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेकोले तपाईँलाई स्वकीय अधिकृत पदबाट आजकै मितिदेखि लागू हुने गरी पदमुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ,“ पत्रमा भनिएको छ। यो कारबाहीको जानकारी प्रधानमन्त्रीको निजी सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ, जसले यो विषयलाई सरकारले गम्भीर रूपमा लिएको देखाउँछ।
पहिलेदेखि नै विभिन्न कारणले आलोचित मन्त्री भण्डारीलाई आफ्नो सचिवालयका सदस्यको यस्तो हर्कतले थप नैतिक र राजनीतिक दबाब सिर्जना गरेको थियो। स्वकीय सचिवको यस्तो अमर्यादित क्रियाकलापले मन्त्रीको छनोट र उनको सचिवालयको समग्र कार्यशैलीमाथि नै गम्भीर प्रश्न खडा गरेको विश्लेषण गरिएको छ।
यो घटनाले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरूका निकट सहयोगीहरूको व्यक्तिगत आचरणसमेत सार्वजनिक निगरानीमा रहने र पदीय मर्यादाविपरीतका कुनै पनि गतिविधिले पद नै गुम्न सक्ने बलियो सन्देश दिएको छ।
