काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग लज्जास्पद हार व्यहोरेको छ। ब्याटिङमा निराशाजनक प्रदर्शन गरेपछि नेपाल ४२ रनको फराकिलो अन्तरले पराजित भयो।
एनटी स्ट्राइकले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालको ब्याटिङ लाइनअप सुरुदेखि नै धराशायी बन्यो। ओपनर कुशल भुर्तेल जम्मा ८ रनमा बोल्ड भए भने तेस्रो नम्बरमा आएका लोकेश बम खाता नै नखोली (डकआउट) पेभेलियन फर्किए। अर्का ओपनर आसिफ शेख पनि ११ रन बनाएर आउट भएपछि नेपालले पावरप्लेमा मात्र २५ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो।
कप्तान रोहित पौडेलले २३ रन र कुशल मल्लले सर्वाधिक ३४ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। अन्त्यतिर गुल्सन झाले ९ बलमा २६ रनको विष्फोटक पारी खेल्दै आशा जगाए पनि त्यो पर्याप्त भएन। दीपेन्द्र सिंह ऐरीले २३ बलमा १९ रनको सुस्त पारी खेले। अन्ततः नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो।
यसअघि पहिले ब्याटिङ गरेको एनटी स्ट्राइकले डार्सी शर्टको ५१ रनको अर्धशतकीय पारीको मद्दतले १७७ रनको बलियो योगफल तयार पारेको थियो। नेपालको बलिङमा भने सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। साहब आलमले २ तथा रुपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १-१ विकेट लिएका थिए।
यो हारसँगै नेपालले प्रतियोगितामा कमजोर सुरुवात गरेको छ। नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेश ‘ए’ सँग खेल्नेछ।
