भाद्र २३— सोमवारको दिउँसो, काठमाडौँको मुटु मानिने नयाँ बानेश्वर क्षेत्र एकाएक रणभूमिमा परिणत भयो। शान्तिको प्रतीक मानिने संसद भवन अगाडिको सडक, ‘जेन–जी’ आन्दोलनको राप र आक्रोशले दन्किरहेको थियो। दिउँसोको करिब २ बजेको समयमा, एकपटक फेरि गोलीको आवाज गुन्जियो, “भट्ट! ड्याङड्यङ!”।
गोली चलेसँगै युवा प्रदर्शनकारीहरू धमाधम ढल्न थाले, रगतले कालोपत्रे सडक लतपतियो। यो भयानक र हृदयविदारक दृश्यको रिपोर्टिङका लागि हामी पनि त्यहीँ उपस्थित थियौँ। चारैतिर भागदौड र कोलाहल मच्चिएको थियो, बन्दुकको आवाजले वातावरणलाई अझ भयावह बनाइरहेको थियो।
यही चरम तनाव र त्रासदीका बीच, हामीले हाम्रो रिपोर्टिङ जारी राख्यौँ। गोली वर्षाका बीच धेरै युवा घाइते हुँदै ढलिरहेका थिए। ठीक त्यही समय, संसद भवन अगाडि एक युवकलाई गोली लाग्यो र उनी त्यहीँ ढले। उनका साथीहरू ज्यान जोगाउन भागाभाग गरिरहेका थिए।
यही कोलाहलका बीच, युवक ढलेको स्थानभन्दा केही पर एक युवती उभिएकी थिइन्— कपालमा कालो चस्मा र सेतो कुर्थामा सजिएकी। मृत्युको मुखमा पुगेका ती युवकलाई देखेर उनको मन थामिएन। मृत्युको कुनै डर नलिई, उनी ढलेका युवक भएको ठाउँमा पुगिन्। उनको रगतले लतपतिएको शरीरलाई उठाइन् र सडक किनारमा रोकिएको एउटा बाइकमा राखेर तत्काल सिभिल अस्पतालतर्फ लागिन्।
मानवीयताको यो अतुलनीय र साहसिक उदाहरण प्रस्तुत गरेर उनी करिब २० मिनेटपछि फेरि बानेश्वरको त्यही रक्ताम्य मैदानमा फर्किइन्। फर्कंदा उनको सेतो कुर्था रगतले रातो भइसकेको थियो, कपालमा पनि रगत लतपतिएको थियो। उनको अनुहारमा आक्रोश र दृढता प्रस्ट देखिन्थ्यो। ठीक त्यही बेला हामीले उनलाई बानेश्वरको व्यस्त सडकमा रोक्यौँ र कुराकानी गर्यौँ।
उनले आक्रोशित हुँदै हामीलाई भनिन्, “प्रहरीले हामीलाई ती भाइलाई अस्पतालसम्म लैजान दिएन, ठाउँ ठाउँमा रोकेर हैरानी दियो, पानीको फोहरा हान्यो।”
युवतीले घाइते युवकलाई अस्पताल पुर्याउन सडकमा रोकिएको बाइक प्रयोग गरेको कुरा राइट संचारसँग स्वीकार गरेकी थिइन्। उनले भनिन्, “यो बाइक कसको हो थाहा छैन, बाइक यहीँ रोकिएको थियो। बाइकको चाबी पनि यहीँ थियो। म यही बाइकमा राखेर ती भाइलाई अस्पताल लिएर गएँ।” उनको यो साहसिक अन्तर्वार्ता राइट संचारको फेसबुक पेजमा मात्रै ३२ लाखभन्दा बढी पटक हेरियो, जसले उनको मानवतावादी कार्यको प्रभाव कति गहिरो थियो भन्ने देखाउँछ।
माओवादी द्वन्द्वको घाउबाट उम्रेको मानवता
फिल्मी शैलीमा घाइतेको उद्धार गर्ने ती युवती २२ महिनाको कलिलो उमेरमा माओवादी द्वन्द्वकालमा आफ्ना बुबा गुमाएकी विराटनगरकी किशोरी कार्की थिइन्। अहिले उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, ’महान चेली’ भन्दै उनको चौतर्फी प्रशंसाको ओइरो लागेको छ।
किशोरीले आफ्ना बुबाको अनुहारको सानो झलक तस्बिरमा मात्र देखेकी थिइन्। सायद यही व्यक्तिगत पीडाले गर्दा नै होला उनले मानिसको ज्यानको मूल्य र पीडित परिवारको छटपटाहटलाई राम्ररी बुझ्छिन्। किशोरी त्यो क्षण सम्झिँदै भन्छिन्, “आजसम्म बाबाको न लास छ, न सास। आफ्नै आँखा अगाडि युवाहरू ढलेको देख्दा मैले आफ्नो ज्यानको माया मारेर मानव सेवामा होमिएँ।”
किशोरीले घाइतेलाई अस्पताल त पुर्याइन्, तर ती घाइतेको नामसम्म पनि थाहा पाइनन्। अस्पताल पुर्याएलगत्तै डाक्टरहरूले उनलाई बाहिर जान भने। सिधा अर्थमा भन्नुपर्दा ती युवकको परिचय पत्ता लगाउनै नपाई उनी अस्पतालबाट फर्किइन्।
दिनभरि आन्दोलनमा सहभागी भएकी किशोरी साँझ कोठामा फर्किइन्। सुरुमा उनले रगतले भिजेका लुगाहरू पखालीन् र नुहाइन्, तब मात्र उनलाई मानसिक रूपमा थकित भएको महसुस भयो। केही समयपछि उनले एउटा फोन कल पाइन्। त्यो फोनमा उनले सुनेको खबरले उनको मुटुमा बिजुली चम्कियो— “भाइ बचेन दिदी, बचाउन सकिनँ।” उनले आफ्नो ज्यान जोखिममा राखेर सहयोग गर्न गएकी थिइन्, तर त्यो युवाको ज्यान बचाउन सकिनन् भन्ने खबरले उनलाई नराम्ररी चोट पुर्यायो। यो पीडाले उनलाई भित्रैदेखि जलायो, तर उनको मानवीयताको भावना अझ बलियो बन्यो।
बलिदानको भारी: प्रशंसा कि आरोप ?
किशोरीको यो अदम्य साहस र मानवीय कार्यको चौतर्फी प्रशंसा भयो। तर, यसको विपरीत, केही पीडित परिवारले उनलाई आरोप पनि लगाए। जब किशोरी ती पीडितलाई भेट्न अस्पताल पुगिन्, उनीहरूसँग उनको झडपसमेत भयो। “तपाईं यत्रो दिनसम्म कहाँ हुनुहुन्थ्यो? आज किन आउनुभयो?” भन्दै उनीहरूले किशोरीमाथि आक्रोश पोखे।
किशोरीले आफू जेन–जीको लिडर वा कार्यकर्ता नभएको स्पष्ट पारिन्। उनले त एक युवाको रूपमा सहयोग गर्न मात्र गएको बताइन्। उनले भनिन्, “मलाई गलत नसोजिदिनुहोस्। म तपाईंहरूको भाइको लागि आएको हो।”
किशोरीको यो कामले उनलाई चर्चामा ल्यायो, तर उनले आफू भाइरल हुनका लागि केही गरेकी होइनन्। उनले राइट संचारसँगको कुराकानीमा भनिन्, “मैले आफैँले भिडियो बनाएर मैले बाइकमा रेस्क्यु गरें भनेर हिँडेको पनि होइन।” उनको विचारमा ‘जेन–जी’ आन्दोलनका कुनै लिडर छैनन्, बरु सबै जना एक भएर काम गर्नुपर्छ। उनले सबैलाई शिक्षित र सक्षम लिडरको खोजी गर्न आह्वानसमेत गरिन्।
किशोरी कार्कीको कहानी एक साहसी युवाको मात्र नभई, देशको वर्तमान अवस्था, युवाहरूको पीडा र परिवर्तनको आशाको प्रतिबिम्ब पनि हो। उनले आफ्नो व्यक्तिगत पीडालाई अरूको सेवामा रूपान्तरण गर्न खोजेकी छिन्, जसले उनको जीवनको महत्त्वपूर्ण मोडमा अझ बलियो बनाएको छ। उनी भन्छिन्, “मेरो ज्यानको माया नै छैन किनभने मेरो बाउले पनि राज्यको लागि बलिदान दिएको हो।”
जल्यो बाइक तर जलेन किशोरीको मन
भाद्र २३ गते युवकको उद्धार गर्न प्रयोग गरिएको उक्त बाइक किशोरीले बग्गीखानामा छोडिन्। बाटोमा प्रहरीले “कसको बाइक हो? किन चलाएको?” भनेर हैरानी दिएपछि किशोरीले बाइक त्यहाँ छोडेकी थिइन्। भाद्र २४ गते आन्दोलनकारीले बग्गीखानामा भएका जम्मै गाडीमा आगो लगाए। त्यहाँ रोकेर राखिएका अधिकांश गाडीहरू जल्यो। ती गाडीसँगै जल्यो किशोरीले प्रयोग गरेको बाइक।
त्यो बाइक पठाओ राइडर शैलेन्द्र शाहीको थियो। काठमाडौँमा पठाओ चलाएर गुजारा चलाउने शैलेन्द्रको बाइक जलेपछि किशोरीमाथि अर्को दायित्व थपियो। त्यसपछि किशोरीले जसरी भए पनि शैलेन्द्रका लागि नयाँ बाइक किनिदिने प्रण गरिन्। उनले फेसबुकमा एक पोस्टसमेत राखिन्:
“उहाँलाई जतिसक्नुहुन्छ क्युआरमा १००, २००, ५००, १००० हालेर सहयोग गरिदिनु होला। उहाँलाई आफ्नो जीवन चलाउन गाह्रो भएको छ, उहाँ पठाओ चलाउने भाइ हो— बिरामीलाई रेस्क्यु गर्न आफ्नै बाइक दिनुभयो तर त्यो बाइक प्रहरी चौकीमा जलेर नष्ट भयो। अब फेरि नयाँ बाइक किन्नका लागि क्युआर दिइएको छ, कृपया सहयोग गरिदिनु होला। अनि सहयोग गर्नुभएको प्रमाण (स्क्रिनसट) कमेन्टमा पोस्ट गरिदिनु होला।”
त्यसपछि देश–विदेशमा रहेका नेपालीहरूले धमाधम सहयोग गर्न थाले। उनले सहयोग अभियान चलाएको २४ घण्टामै २ लाख बढी रकम जम्मा भयो। किशोरीले बाइक किन्न पैसा पुगेको बताउँदै सबैलाई धन्यवाद दिइन्। हिजो शनिबार मात्रै किशोरीले शैलेन्द्र शाहीलाई नयाँ बाइक किनेर दिइन्। किशोरीले गरेको यो अतुलनीय कार्यको चारैतिर प्रशंसा भइरहेको छ। उनले अब बचेको रकम अस्पतालमा गएर घाइतेहरूलाई सहयोग गर्ने बताएकी छन्।
आन्दोलनको पहिलो दिन: हामीले सडकमा जे देख्यौँ
भाद्र २३ गते, मङ्गलबार। काठमाडौँका कालोपत्रे सडकहरू आक्रोश र परिवर्तनको ज्वालाले दन्किरहेका थिए। ‘जेन–जी’ आन्दोलनका हजारौँ युवाहरू, कलेजको पोसाकमा सजिएका र काँधमा राष्ट्रिय झण्डा बोकेका, विद्रोहको नयाँ अध्याय लेख्न सडकमा ओर्लिएका थिए। बिहान ११ बजेसम्म माइतीघर मण्डलाबाट सुरु भएको यो जनसागर नयाँ बानेश्वरतर्फ उर्लँदै थियो, जसको आवेग र जोसले पुरै राजधानीलाई नै हल्लाइरहेको थियो।
बिजुलीबजारको पुल कटेपछि प्रहरीले ‘ह्युमन ब्यारिकेड’ खडा गरेर प्रदर्शनकारीलाई रोक्ने प्रयास ग¥यो, तर त्यो क्षणिक प्रतिरोध मात्र थियो। बल प्रयोग नगरी प्रदर्शनकारीहरूलाई एभरेस्ट होटेलसम्म सहजै अगाडि बढ्न दिइयो, मानौँ यो कुनै सुनियोजित खेलको पहिलो चाल थियो। तर, एभरेस्ट होटेल पार गरेपछि परिस्थिति बदलियो। निषेधित क्षेत्रमा प्रवेश रोक्न फलामे ब्यारिकेडसहित सुरक्षाकर्मीको फौज खटाइयो। त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच तनावको उत्कर्ष सुरु भयो।
उत्तेजित प्रदर्शनकारीहरूले ब्यारिकेड तोड्न प्रयास गर्दा प्रहरीले रोक्ने चेष्टा ग¥यो। केही समयको घम्साघम्सीपछि फलामे ब्यारिकेड ढल्यो। प्रहरीले औपचारिकता निभाएझैँ केही अश्रुग्यास र पानीका फोहरा हान्यो, तर त्यो पर्याप्त थिएन। विगतका आन्दोलनहरूमा प्रहरीले प्रयोग गर्ने अमानवीय बल यसपटक देखिएन, जसले सुरक्षा संयन्त्रको रणनीतिमाथि नै प्रश्नचिह्न खडा ग¥यो। यो बल प्रयोग ‘हामीले प्रयास ग¥यौँ’ भन्ने देखाउनका लागि मात्रै गरिएको नाटकजस्तो प्रतीत भइरहेको थियो।
अन्तिम ब्यारिकेड पनि ढलेपछि उत्साहित प्रदर्शनकारीहरू नयाँ बानेश्वर चोकमा पुगेर तीन भागमा बाँडिए। एक समूह मीनभवन हुँदै संसद भवनको दक्षिणी भागबाट भित्र छिर्ने प्रयासमा लाग्यो। अर्को समूह दक्षिण गेटमा पुगेर धक्कामक्की गर्न थाल्यो। तेस्रो समूह सिधै नयाँ बानेश्वर चोकबाट पुरानो बानेश्वरतिर जाने प्रयासमा लाग्यो। प्रहरीको ‘ह्युमन ब्यारिकेड’ ले यो जनसागरलाई रोक्न सकेन। प्रदर्शनकारीहरू सुरक्षा घेरा तोडेर अगाडि बढे र सिधै संसदको पश्चिमी गेटनजिक भेला भए।
त्यहाँको दृश्य अझ भयावह बन्दै गयो। केही प्रदर्शनकारी संसद भवनको गेटसँगैको एकतले भवनको छतमा चढेर प्रहरीमाथि ढुंगा बर्साउन थाले। गेटबाहिर रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठी प्रहार गरेर भीड हटाउने प्रयास गरे, टियर ग्यास हाने, तर भीड नियन्त्रणमा आएन। पछिल्ला आन्दोलनहरूमा संसद भवन नै मुख्य तारो बनिरहेको थियो। २०८१ चैत १५ को आन्दोलन हिंसात्मक हुनुको एक प्रमुख कारण संसद कब्जा गर्ने रणनीति नै थियो। यस ‘जेन–जी’ आन्दोलनमा दुर्गा प्रसाईंसहित माओवादी, रास्वपा र बालेन शाहसमेतको समर्थनले यसको जटिलतालाई थप बढाएको थियो। प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले यसको सम्भावित जोखिमको मूल्यांकनमा पूरै चुकेको देखियो, जसको परिणाम भयावह हुन पुग्यो।
प्रहरीको ‘बल प्रयोग नगर्ने’ रणनीतिले गर्दा प्रदर्शनकारीहरू संसद घेर्न र भित्र छिर्न सफल भए। संसदलाई कसरी सुरक्षा गर्ने भन्ने दोस्रो सुरक्षा रणनीति बनाइएको नै थिएन।
त्यसपछि दक्षिणतिरको भीडले संसद भवनको पर्खालमा प्वाल पारेर र केही पर्खाल नाघेर परिसरभित्र छिरे। पश्चिमतिरका प्रदर्शनकारीहरू गेट नजिकैको एकतले भवन चढेर र पर्खाल नाघेर संसद परिसरभित्र छिर्ने प्रयासमा लागे। पश्चिम गेटको बाहिर तोडफोड गरेर आगो लगाइयो। परिस्थिति पूर्ण रूपमा नियन्त्रणबाहिर गएपछि संसद भवन परिसरमा रहेका प्रहरीहरूले गोली चलाउन थाले।
संसद भवन बाहिर प्रदर्शनकारीहरूको संख्या लगातार बढिरहेको थियो र उनीहरू भित्र छिर्ने प्रयासमा थिए। संसद भवनको सुरक्षामा खटिएको प्रहरी कमान्डरले प्रदर्शनकारीहरू भित्र छिर्न थालेको रिपोर्टिङ गरेपछि माथिबाट कठोर आदेश आयो, ‘कुनै पनि हालतमा प्रदर्शनकारीलाई रोक्नु, माथिको आदेश छ।’
त्यसपछि प्रहरीको गोली बर्साउन थाल्यो। सडकमा एकपछि अर्को गर्दै प्रदर्शनकारीहरू ढल्न थाले। भीड नियन्त्रण विधिको अन्तिम अस्त्रअनुसार प्रहरीले गोली चलाउँदा घुँडामुनि लाग्ने गरी हान्नुपर्ने कानुनी व्यवस्था भए पनि, अधिकांशको टाउकोमा वा छातीमा गोली लाग्यो। यसको पछाडिको क्रूर सत्य के थियो भने, संसद भवनभित्र भीड नियन्त्रणमा खटिने सामान्य प्रहरी मात्र नभएर प्रहरीको ‘स्पेसल टास्क फोर्स’का सदस्यहरू पनि थिए, जसको तालिम नै टाउको वा छातीमा गोली हान्ने हुन्छ। उनीहरू नेपाल प्रहरीका कमान्डोहरू थिए।
संसदभित्र छिरिसकेका केही प्रदर्शनकारीलाई भित्र रहेका प्रहरीले नियन्त्रणमा लिए। पर्खाल नाघेर भित्र छिर्न खोज्नेहरूलाई रोक्न कमान्डोहरूले आधा शरीर झुकाएर, घुँडा टेकेर गोली चलाए। पर्खाल नाघेर भित्र छिर्न खोज्नेहरूमाथि चलेको अधिकांश गोली संवेदनशील अङ्गमा लाग्यो। दक्षिणी गेट र पश्चिमी गेटमा भित्रबाट उभिएर प्रहरीले गोली चलाउँदा पनि प्रायःको टाउकोमै गोली लाग्यो। दिउँसो १ बजेतिर बानेश्वरको सडक रणभूमिमा परिणत भयो, जहाँ प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली चलाउन थाल्यो। त्यो दिन २१ जना निर्दोष युवाहरुले ज्यान गुमाए । ५ सय बढी घाइते भए ।
युवाहरूको ‘जेन–जी’ आन्दोलनमा काठमाडौँको बानेश्वर रणभूमिमा परिणत भएको घटनामा किशोरी कार्कीले देखाएको मानवीयता अनुकरणीय छ। आन्दोलनका क्रममा गोली लागेर ढलेका एक युवकलाई उनले आफ्नो ज्यानको समेत प्रवाह नगरी उद्धार गरिन्। उनको सेतो कुर्था रगतले भिजे पनि उनले घाइतेलाई बाइकमा राखेर अस्पताल पुर्याइन्। उनले घाइतेलाई अस्पताल पुर्याउन प्रयोग गरेको बाइक आन्दोलनकारीले जलाइदिएपछि उनले सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलाएर पठाओ राइडर शैलेन्द्र शाहीलाई नयाँ बाइक किनेर दिइन्। यसले उनको निस्वार्थ सेवा र इमानदारीलाई प्रमाणित गर्छ।
किशोरीको यो कार्यले एक व्यक्तिलाई मात्र होइन, सिंगो समाजलाई नै मानवीयता र साहसिकताको पाठ सिकाएको छ। उनले आफ्नो बुबाको बलिदान सम्झँदै मानिसको ज्यानको मूल्यलाई प्राथमिकतामा राखिन्, जसले उनलाई ’महान चेली’ को उपाधि दिएको छ। उनको यो कार्यले चर्चा मात्र कमाएको छैन, समाजमा सकारात्मक परिवर्तनको आशा पनि जगाएको छ।
