काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका चार दर्जन उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयावधि दिइएकोमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिनेमा धनकुटाबाट एक, मोरङबाट पाँच, सुनसरीबाट एक, ओखलढुंगाबाट एक, महोत्तरीबाट चार, सर्लाहीबाट दुई, धादिङबाट एक, नुवाकोटबाट एक जना उम्मेदवार रहेका छन् । त्यसैगरी काठमाडौंबाट पाँच, रौतहटबाट एक, बाराबाट दुई, पर्साबाट दुई, चितवनबाट एक, गोरखाबाट एक, तनहुँबाट एकले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।
प्रतिनिधीसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका स्याङ्जाका चार, पाल्पाका एक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का दुई, रुपन्देहीका एक, रुकुम पूर्वका एक, रोल्पाका दुई, दाङका एक जना उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । बाँकेमा चार, बर्दियामा दुई र कैलालीमा एक जनाले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता भएकोमा तीन हजार ४८६ जनाले उम्मेदवारी दिएका थिए ।
आगामी फागुन २१ गते देशभरका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा एकै चरणमा निर्वाचन हुँदैछ । दुई सय ७५ सदस्यीय प्रतिनिधी सभामा एक सय १० जना सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।
