मिचेल मार्सको अलराउन्ड प्रदर्शन प्रेरणाबाट अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पाँच खेलको ट्वान्टी–२० शृंखलामा पहिलो जित निकालेको छ।
डारेन सामी स्टेडियममा भएको चौथो खेलमा अस्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिजमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै पाँच खेलको शृंखलामा पहिलो सफलता निकालेको हो। यसअघिका दुई खेलमा अर्धशतकीय इनिङ खेलेका मार्स बिहीबार क्यारेबियन बलरमाथि पूर्ण हाबी भए। उनले ४४ बलमा ७५ रनको आक्रामक इनिङ खेले।
उनको इनिङमा ६ छक्का र चार चौका समावेश थियो। मार्स र कप्तान आरोन फिन्चले अर्धशतकीय योगदान दिँदा अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १ सय ८९ रनको चुनौती प्रस्तुत गर्यो। मार्सले दोस्रो विकेटका लागि फिन्चसँग १ सय १४ रनको शतकीय साझेदारी गरे। फिन्चको इनिङमा ५३ रनको योगदान रह्यो।
वेस्ट इन्डिजको बलिङमा एक पटक फेरि हेडेन वाल्सको उत्कृष्ट प्रदर्शनले निरन्तरता पायो। स्पिनर वाल्सले फिन्चसहित तीन विकेट लिँदा २७ रन खर्चिए। जबाफी लक्ष्य पछ्याएको वेस्ट इन्डिजका ओपनर लेन्डी सिमोन्सले ७२ रनको आक्रामक इनिङ खेले। तर, उनलाई अनुभवी अलराउन्डर मार्सले पवेलियन फर्काउँदै खेल अस्ट्रेलियाको पक्षमा पारे। मार्सकै प्रेरणामा अस्ट्रेलियाली टोली लगातार अर्को हार बेहोर्नबाट बच्यो।
१९औं ओभरमा फाबियन एलेन र आन्द्रे रसेलले लगातार छक्का प्रहार गरी २५ रन जोड्दै घरेलु टोलीलाई जितको आशा जगाए। तर, अन्तिम ओभरमा मिचेल स्टार्कले कसिलो बलिङ गर्दै क्यारेबियन बिग हिटरबाट खेल जोगाए।
जितका लागि ११ रन आवश्यक हुँदा रसेल अन्तिम बलमा मात्र छक्का प्रहार गर्न सफल भए। स्टार्कले त्यसअघिका पाँच बलमा भने कुनै रन दिएनन्। ब्याटिङमा राम्रो साथ दिएका मार्सले बलिङततर्फ पनि ३–२४ को उत्कृष्ट प्रदर्शन गरे। ‘म पूर्वी अस्ट्रेलियाको हुँ, त्यसैले यो पिचमा मलाई राम्रोसँग बलिङ गर्न मद्दत मिल्यो,’ म्यान अफ दी म्याचको ट्रफी ग्रहण गरेपछि मार्सले भने, ‘वेस्ट इन्डिजका बिग हिटरसामु बलिङ गर्न निकै कठिन हुने गर्दछ भन्ने हामी सबैलाई थाहा छ। तर ब्याटिङसँगै बलिङमा पनि राम्रो योगदान गर्न पाएकोमा निकै खुसी छु।’
क्यारेबियन टोलीबाट सर्वाधिक योगदान पुर्याएका सिमोन्स नै मार्सको तेस्रो सिकार थिए। त्यसअघि मार्सले तेस्रो खेलमा नायक क्रिस गेल र निकोलस पुरनजस्ता आक्रामक खेलाडीलाई पवेलियनको बाटो देखाएका थिए। काइरन पोलार्ड चोटका कारण अनुपस्थित रहँदा पुरनले क्यारेबियन टोलीको कप्तानी समालेका छन्। हारका बावजुद पुरनले ट्वान्टी–२० विश्वकपअगाडि केही खेलाडी लयमा रहेकाले वेस्ट इन्डिजका लागि राम्रो सन्देश रहेको बताए। यी दुईबीचको अन्तिम तथा पाँचौं खेल यसै स्टेडियममा शुक्रबार हुनेछ। त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्न दुवै टोली आगामी मंगलबार बार्बाडोस जानेछन्।
