८ साउन, काठमाडौं । ओलम्पिकको इतिहासमा निकै प्रतिभावान युवा खेलाडीले विश्वव्यापी यो मञ्चमा राम्रो प्रभाव छाडेको धेरै उदाहरण छन् । यो क्रम टोकियो ओलम्पिकमा पनि टुटेको छैन । यसपटक सिरियाकी १२ वर्षीया हेन्ड जाजा ओलम्पिकमा डेब्यु गर्दै छिन् । उनी टोकियो ओलम्पिककी सबैभन्दा कम उमेरकी खेलाडी हुन् ।
शनिबार टोकियो ओलम्पिकमा जाजाले आफ्नो पहिलो खेल अष्ट्रियाकी लिउ जियासँग प्रतिस्पर्धा गर्दै छिन् । शनिबार ओलम्पिकमा डेब्यु गरेसँगै उनी ओलम्पिक खेल्ने सन् १९६८ यताकै सबैभन्दा कम उमेरकी खेलाडी हुने छिन् ।
सिरियाकी १२ वर्षीया टेनिस खेलाडीले गत वर्षको फेब्रुअरीमा जोर्डनमा भएको एसियाली छनोटमा लेबनानकी ४२ वर्षीया मारियाना साहाकियानलाई हराउँदै टोकियो ओलम्पिकमा आफ्नो सिट सुनिश्चित गरेकी हुन् ।
सबै उमेर समूहमा राष्ट्रिय उपाधि जित्ने उनी पहिलो सिरियाली खेलाडी हुन् र उनी शनिबार टोकियो ओलम्पिकमा आफ्नो डेब्यु गर्न गइरहेकी छिन् । त्यतिमात्र होइन, जाजा सिरियाबाट सोझै ओलम्पिकमा छनोट भएकी पहिलो खेलाडी हुन् । ‘यो मेरो देश, मेरा अभिभावक र सबै साथीहरुका लागि उपहार हो,’ मार्क डटकमसँगको कुराकानीमा जाजाले भनिन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले भनेकी छिन्, ‘मेरो लक्ष्य विश्व च्याम्पियन बन्नु हो र एकदिन ओलम्पिक च्याम्पियन बन्नु हो ।’
अन्य सिरियाली बालबालिका जस्तै जाजाको बाल्यकालको अधिकांश समय सिरियाली गृहयुद्धको छायाँमा बितेको छ । यसबाट बाहिर निस्किन उनले टेनिसलाई रोजिन् । बारम्बार बत्ती जाने समस्याका कारण जाजाको अभ्यास रोकिएको थियो ।
बन्द कोठामा अवस्था राम्रो नभएका चारओटा टेबल र सम्म नपरेको भुइँमा उनले अभ्यास गर्नुपर्थ्यो । तर, विषम परिस्थितिले उनको ओलम्पिक खेल्ने सपनालाई छेक्न सकेन । उनले पाँच वर्षको उमेरदेखि नै टेबल टेनिस खेल्न थालेकी थिइन् । जाजाका प्रशिक्षकका अनुसार मुलुकमा जारी रहेको युद्धको कारण जाजाले एक वर्षमा जम्मा दुई वा तीनओटा बाह्य खेल खेल्ने मौका पाउँनेछिन् ।
जाजा परिवारकी कान्छी सदस्य हुन् । उनका चार दाइ छन् । उनका बाबु पूर्वफुटबल खेलाडी हुन् र अहिले जिम्न्यास्टिक्स सिकाउँछन् । चिनियाँ सञ्चारमाध्यम सीजीटीएन डटकमसँगको कुराकानीमा जाजा भन्छिन्, ‘खेलकुद मेरो रगतमा छ ।’
‘मेरो परिवारका सबैले मलाई सानैदेखि निकै सहयोग गर्दै आएका छन्, उनीहरुले सानैदेखि मेरो ख्याल राख्दै आएका छन् । उनीहरुले मलाई खेलकुदमा अघि बढ्न हौसला दिए ।’
जाजाले आफ्नो पढाइ पनि छाडेकी छैनन् । उनी आफूलाई गणित विषय मन पर्ने बताउँछिन् ।
