एजेन्सी । विश्वकप छनोटमा पोर्तुगलले सहज जित निकालेको छ । गएराति आफ्नो कप्तान तथा मुख्य फरवार्ड विनै मैदानमा उत्रिएको पोर्तुगलले अजरबैजानलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
पोर्तुगललाई सहज जित दिलाउनको लागि बर्नाडो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोटाले समान एक एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।
खेलको २६औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्तुगलले अग्रता लिएको थियो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।
३१औं मिनेटमा डिएगो जोटाको पासमा आन्द्र सिल्भाले गोल गर्दै पोर्तुगललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ७५औं मिनेटमा डिएगो जोटाले जोओ क्यान्सेलोको पासमा गोल गर्दै पोर्तुगललाई ३–० को सहज जित दिलाए ।
जितपछि समूह ‘ए’ मा अपराजित रहेको पोर्तुगल ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित अजरवैजान १ अंक जोडेर पुछारमा छ ।
