पइचिङ : कोविडको उद्गमस्थल मानिने चीनको वुहानलाई भाइरसको संक्रमणबाट न्यून जोखिमपूर्ण क्षेत्रको रूपमा घोषणा गरिएको छ। पछिल्लो १४ दिनमा कुनै पनि संक्रमित नभेटिए कोविडबाट न्यून जोखिमपूर्ण क्षेत्र घोषणा गरिने व्यवस्थाअनुसार वुहान क्षेत्रलाई न्यून जोखिमपूर्ण क्षेत्र घोषणा गरिएको हो।
चीनमा कम्तीमा पनि पछिल्लो १४ दिनमा कोविडबाट संक्रमित कुनै पनि व्यक्ति नभेटिएका राज्य, जिल्ला तथा शहरलाई न्यून जोखिमपूर्ण क्षेत्रको रूपमा घोषणा गरिने मापदण्ड राज्य सरकारले बनाएको छ ।
त्यसैगरी ५० वा सोभन्दा कम संक्रमित देखिएको ठाउँलाई मध्यम जोखिम र ५० भन्दा बढी संक्रमित भेटिएको ठाउँलाई उच्च जोखिमपूर्ण क्षेत्र मानिने मापदण्डमा उल्लेख छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको पछिल्लो विवरणअनुसार आइतवार देशभर १६ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् ।
आइतवारसम्म कोविडका कारण चीनमा मृत्यु हुनेको संख्या ४ हजार ६३२ पुगेको आयोगले जनाएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ८२ हजार ७३५ पुगेको छ भने १ हजार ४१ जनाको उपचार भइरहेको छ। बाँकी ७७ हजार ६२ जना संक्रमणमुक्त भइसकेका छन्
