काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान दिने भएको छ। लघु घरेलु तथा साना उद्योगमा आवश्यक पर्ने प्रविधिको अध्ययन अनुसन्धान र विकासको लागि सहयोग सम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ।
उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय लघु घरेलु तथा साना उद्योग प्रवर्ध्दन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच लघु घरेलु तथा साना उद्योगमा आवश्यक पर्ने प्रविधिको अध्ययन अनुसन्धान र विकासको लागि सहयोग आदान प्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। लघु घरेलु तथा साना उद्योग प्रवर्ध्दन केन्द्रका निमित्त कार्यकारी अधिकृत विष्णुप्रसाद भुसाल र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले उक्त समजदारी पत्रमा हस्ताक्षर गरेका छन्।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो। सो अवसरमा मन्त्री वडुले सरकारको लक्ष्य नै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भएकाले उत्पादनलाई प्रविधिमैत्री बनाएर उत्पादन बढाउन आवश्यक प्रविधि निर्माण गर्न आविष्कार केन्द्रसँग सहकार्य गरेको बताए। उनले आविष्कार केन्द्रको कामको प्रशंसा गरे।
गद्योग सचिव तोयानारायण ज्ञावालीले उद्योग मन्त्रालयको उद्देश्य आविष्कार केन्द्रको उद्देश्यसँग मिल्ने भएकाले प्रविधिको अध्ययन अनुसन्धानका लागि सहयोग गरिएको बताए।
केन्द्रका निमित्त कार्यकारी अधिकृत भुसालले सरकारी नीजि क्षेत्रको सहकार्यमा स्थानीय कच्चा पदार्थको प्रयोग गरि आवश्यक प्रविधिको निर्माण गर्ने नीतिगत व्यवस्था अनुसार आविष्कार केन्द्रलाई अनुदान प्रदान गरिने बताए। उनका अनुसार मन्त्रालयले आविष्कार केन्द्रलाई चालु आर्थिक वर्षमा खर्च गर्ने गरि ४० लाख रुपैया प्रदान गर्ने छ। केन्द्रले परम्परागत प्रविधिको विकास गरि लघु घरेलु तथा साना उद्योगको प्रवर्ध्दनमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्यले सहयोग प्रदान गरिएको भुसालले जानकारी दिए।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले केन्द्रको उद्देश्य नै उद्यमीहरु जन्माउने रहेको बताए। त्यसका लागि आवश्यक अध्ययन अनुसन्धान गर्न यो बजेट खर्च गरिने जानकारी दिए। उद्यमी उत्पादन गरि उद्योग स्थापनालाई प्रोत्साहन गर्न यो बजेटले सिन्के धूप बनाउने प्रविधि तथा दाँत कोट्याउने सिन्का बनाउने मेसिनको आविष्कार गरिने पुनले जानकारी दिए। गाउँबाट कोदो चुट्ने मेसिन निर्माणको लागि माग आइरहेकोले त्यो मेसिन पनि बनाउने उनले बताए।

