अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले समूह ‘सी’अन्तर्गत मेक्सिकोविरुद्धको खेल दक्षिण अमेरिकी टिमका लागि विश्वकपको पहिलो फाइनल हुने बताएका छन्।
पहिलो खेलमा साउदी अरबविरुद्ध पहिलो खेलमा २–१ ले पराजित भएको दुई पटकको च्याम्पियन अर्जेन्टिना समूह चरण पार गर्न जित्नै पर्ने दबाबमा छ।
लुसेल रंगशालामा त्यो नतिजा अर्जेन्टिनाले विश्वकपका पछिल्ला ६ खेलमा चौथो पराजय हो। त्यसबाहेक एक खेलमा जित र एक खेल बराबरी खेलेको छ। जुन त्यसअघिका २५ खेलमा भोगेको हार बराबरी हो।
त्यो हारबाट अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पूर्णविरामसमेत लगाएको थियो। विश्व फुटबलको सबैभन्दा लोकप्रिय टिमकोरूपमा कतार पुगेको अर्जेन्टिना अब छिट्टै बाहिरिने खतरामा पुगेको छ।
एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्दै आएका मार्टिनेज त्यही रंगशालामा अर्जेन्टिनाले पुनरागमन गर्नुपर्ने बताउँछन्।
‘करिब तीन वर्षपछि त्यो पनि विश्वकपमा पराजित हुँदा हामीलाई धेरै पीडा भएको छ,’ उनी भन्छन्, ‘हामी यो खेल फाइनल जसरी खेल्न चाहेका थियौं तर त्यो भएन। हामीले पहिलो गोल गरेपछि आराम गर्न थाल्दा त्यसको मूल्य चुकाउनु पर्यो । अब शनिबार हाम्रो पहिलो विश्कप फाइनल हुनेछ।’
मेक्सिकोविरुद्धको विगत अर्जेन्टिनाको पक्षमा छ। अर्जेन्टिनाले पछिल्ला १० खेलमा मेक्सिकोसँग अपराजित छ। जसमा सन् २००४ को कोपा अमेरिकामा हासिल गरेको जित पनि समावेश छ। सनु १९३०, २००६ र २०१० मा भएका मेटमा पनि अर्जेन्टिनाले जित निकालेको छ।
मेक्सिकोका लागि पछिल्लो समय विश्वकपमा गोल गर्नु प्रमुख समस्या बनिरहेको छ। उत्तर अमेरिकी मुलुकले खेलेका पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन। समूह ‘सी’को पहिलो खेलमा मेक्सिको पोल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यो खेलमा पोलिस कप्तान रोबर्ट लेवान्डोस्कीले प्रहार गरेको पेनाल्टी गुइलेर्मो ओचोवाले बचाएका थिए।
पाँचौं पटक विश्वकप खेलिरहेका ओचोवा हालसम्म विश्पकपको अन्तिम १६ पार गर्न सकेका छैनन्। सन् १९८६ मा क्वार्टरफाइनल पुगेको मेक्सिको त्यसपछिका सात संस्करणमा फेरि त्यहाँ पुग्न सकेको छैन।
एक सय ३२ क्याम जितिसकेका ओचोवाले मेक्सिकन टिमबाट धेरै खुशी बटुलेका छन्। तर, ओचोवा आफ्नै नेतृत्वमा फेरि एक पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्याउन चाहन्छन्।
‘म विश्वकपमा पाँचौं खेलका लागि जे सुकै बेच्न तयार छु,’ पोल्यान्डसँगको बराबरीपछि ओचोवाले भनेका थिए।
यदि अर्जेन्टिनाविरुद्ध जित निकाल्न सके अन्तिम १६ मा पुग्ने करिब निश्चित हुनेछ। त्यति मात्रै होइन, विश्वकपको प्रमुख दाबेदार मानिएको अर्जेन्टिनाको यात्रासमेत समूह चरणमा टुङ्गिने छ। मेक्सिको सन् २०१० को विश्वकपको बदला लिने होडमा हुनेछ।
अन्तिम १६ मा भएको त्यो भेटमा कार्लोस टेभेजको दुई गोलप्रेरित अर्जेन्टिनाले ३–१ को जित निकालेको थियो। तीमध्ये पहिलो गोल अफसाइड थियो। ठूलो स्क्रिनमा देखाइएको गोलमा अफसाइड भएपछि मेक्सिन समर्थकहरू उत्तेजित भएका थिए।
प्रभाव पार्न सक्ने खेलाडी
लौटारो मार्टिनेज (अर्जेन्टिना)

इन्टर मिलानका फरवार्ड मार्टिनेजले साउदीविरुद्ध गरेका दुई गोल अफसाइडका कारण रद्द भएका थिए। साउदीको ‘हाइ लाइन’ रक्षापंक्ति बिट् गर्न असफल रहेका मार्टिनेज अझै विश्वकपमा पहिलो गोल पर्खिरहेका छन्।
साउदीविरुद्ध तीन पटक अफसाइड बसेका मार्टिनेज मेक्सिकोविरुद्ध अनसाइड बसेर सदर गोल गर्न आत्तुर छन्। साउदीविरुद्ध २५ पटक मात्रै बल छोएका मार्टिनेज खेलमा पनि अझै संलग्न हुने कोसिसमा हुनेछन्। जुन ५८ मिनेटमा मैदान प्रवेश गरेका जुलियन अल्भारेजभन्दा मात्रै बढी हो।
एलेक्सिस भेगा (मेक्सिको)

पोल्यान्डविरुद्धको खेलमा भेगाले सर्वाधिक पाँच पटक प्रहार गरेका थिए। तीमध्ये चार प्रहार उनले पेनाल्टी बक्स भित्रबाट गरेका थिए। तर, उनले कुनै पनि प्रहार फ्रेममा राख्न सकेनन्।
विपक्षी टिमको बक्समा ६ पटक बल भेट्टाएका भेगाले आफूलाई छरितो फरवार्डको रूपमा प्रस्तुत गरेका छन्। तर, उनले आक्रमण अझै सुधार्नुपर्ने छ।
