३६ वर्षको लामो प्रतिक्षापछि अर्जेन्टिनाले फुटबल मैदानमा फेरी आफ्नो साम्राज्य स्थापित गरेको छ । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो ।
अर्जेन्टिनाको जितपछि क्यामेराले केही मिनेटसम्म लियोनल मेस्सीलाई पछ्याइरह्यो । उनको अनुहारको भाव देखेर कोहीको आँखामा आँसु आयो भने कोही उत्सवमा नाच्न थाले । जितका हिरो बनेका मेस्सीले एकपछि अर्को गर्दै खेलाडीलाई अँगालो हालेको देखियो ।
जितपछि मेस्सीले स्टेजमा अवार्ड लिन दुई पटक स्टेजमा पाइला टेकेका थिए, जसमध्ये एउटालाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले प्रश्न र जवाफ दिइरहेका छन् ।
मेस्सी पहिलो पटक स्टेज चढ्दा उनलाई गोल्डेन बल अवार्ड दिइएको थियो । यो अवार्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ ।
त्यसपछि अर्जेन्टिनाका खेलाडीहरू फिफा विश्वकप ट्रफी लिन एक–एक गरेर स्टेजमा पुगे, यसैबीच सबैका आँखा मेस्सीलाई खोजिरहेका थिए ।
मेस्सी सबैभन्दा अन्तिममा स्टेजतर्फ अघि बढे । उनलाई स्टेजमा पदक दिएपछि कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक लगाइदिए । यो पोशाकलाई लिएर सामाजिक सञ्जालमा केहीले प्रश्न उठाइरहेका छन् भने केहीले यसको पक्षमा लेखिरहेका छन् ।
योसँगै कतिपयले यो पहिरन के हो र यसलाई के भनिन्छ भनेर जान्न खोजिरहेका छन् ।

मेस्सीले लगाएका पहिरन बिष्ट के हो ?
कतार विश्व कप आयोजक समितिका महासचिव हसन अल थावादीले बीबीसी स्पोर्टसँगको कुराकानीमा यसबारे जानकारी दिएका छन् । उनले भने, ‘यो आधिकारिक पोशाक हो र यो विशेषगरी समारोहको लागि लगाइन्छ । यो मेस्सीको जीतको सम्मानमा उनलाई लगाइएको थियो । ’
उनले भने, ‘विश्वकप हाम्रा लागि अरब र मुस्लिम संस्कृतिको दुनियाँलाई देखाउने अवसर थियो । यो कतारको लागि होइन, यसले एक क्षेत्रको उत्सवको आनन्द देखाएको छ ।’
मेस्सीले लगाउने पहिरनलाई बिष्ट पनि भनिन्छ । यो अरब देशहरूमा एक प्रकारको सांस्कृतिक पोशाक हो । यो विशेष अवसरहरूमा मात्र लगाइन्छ । यसै कारण आइतबार राती जितलाई विशेष बनाउनका लागि मेस्सीलाई जालीदार, सुनौलो रङले सजाइएको पोसाक लगाइएको थियो ।
तर, यो पोशाक मेस्सीलाई लगाइदिँदा उनी आफैँलाई पनि कसरी लगाउने भन्ने बुझेका थिएनन् । शेख तमिम बिन हमादले मेस्सीलाई यो पोशाक लगाउन मद्दत गरे । त्यसपछि मेस्सी ट्रफी लिएर खुसी हुँदै आफ्नो टोली तर्फ लागे र रंगशालामा आतिशबाजी सुरु भयो ।
सामाजिक सञ्जालमा के भनिरहेका छन् मानिस ?
आयरिश ब्लगर जोनी वार्डले लेखेका छन् – कालो पोशाकले फोटो खिच्ने बेला मेस्सीको प्रतिष्ठित १० नम्बरको टी–सर्टलाई छोप्ने काम गर्यो । किन यस्तो गरेको होला ? यो अपमान हो र यसका लागि जिम्मेवार कतार हो ।’
‘त्यो क्षण जसलाई मेस्सीले सपनामा देखेका थिए’ लेखिएको ट्वीटलाई रिट्वीट गर्दै शोभिक बर्नीले लेखे, ‘निश्चित रुपमा कालो कपडा उनको सपनामा थिएन ।’
बालुमा नामका एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘मेस्सीले मेरो लागि कप उठाएको क्षणलाई कालो पोशाकले बर्बाद बनायो ।’
बीडीएम नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘ मेस्सीले कालो लुगा नलगाई ट्रफी उचालेको तस्बिर हेर्ने चाहन्छु ।’
यस्तै, आदि शाहले लेखेका छन्, ‘के कसैले तस्बिरबाट कालो पोशाक एडिट गरेर हटाउन सक्छ ?’
रोब वाग्नर नामका एक ट्विटर प्रयोगकर्ताले मेस्सीलाई अहिलेसम्मकै सबैभन्दा प्रतिष्ठित फोटोका लागि कालो पहिरन लगाउन बाध्य पारिएको लेखेका छन् । खेल सकिएपछि राजनीतिक नेताहरूलाई मैदानमा जान दिनु हुँदैन ।
अर्कोतर्फ, केहीले मेस्सीलाई बिष्ट लगाउनु पर्ने कुराको पनि समर्थन गरेका छन् । अरबी २१ न्युजका सम्पादक फिरास अबुले लेखे, ‘धेरै पश्चिमी पत्रकारहरू गहिरो समस्यामा परेका छन् किनभने मेस्सीलाई उत्सवको क्रममा अरब बिष्ट प्रस्ताव गरिएको थियो ।’
‘सयौँ ट्विटमा दाबी गरियो कि उनलाई यो पहिरन लगाउनका लागि बाध्य पारिएको थियो तर गोल्डन ग्लव्स ट्रफीसँग एमी मार्टिनेजले जुन लज्जास्पद व्यवहार गरे त्यसबारे एउटा पनि ट्वीट देखिएको छैन ।’
मोहम्मद मुताहिर अली नामका प्रयोगकर्ताले कतारले मेस्सीलाई सम्मान स्वरुप बिष्ट प्रस्तुत गरेको तर केही पश्चिमा पत्रकारले कतारलाई अपमानित गर्ने अन्तिम प्रयासमा यसलाई मुद्दा बनाएर लेखेको बताएका छन् ।
