काठमाण्डाै – इङ्ग्ल्यान्ड क्रिकेट टिमका पूर्वकप्तान इयाेन माेर्गनले सबै खाले क्रिकेटबाट सन्न्यास लिएकाे घाेषणा गरेका छन् । आज साेमवार सामाजिक सञ्जालमार्फत माेर्गनले यसबारे जानकारी दिएका हुन् ।
मोर्गनले आफ्नाे कप्तानीमा इङ्ग्ल्यान्डलाई सन् २०१९ काे एकदिवसीय विश्व कपकाे उपाधि जिताएका थिए । उनले गएकाे वर्षकाे जुनमा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । तर अब उनले फ्रेन्चाइजी क्रिकेटबाट पनि सन्न्यास लिएका हुन् ।
मोर्गन सीमित ओभरकाे क्रिकेटकाे इतिहासमा इङ्ग्ल्यान्डका अहिलेसम्मकै सफल कप्तान साबित भएका छन् । उनकाे कप्तानीमा इङ्ग्लिस टिमले एक सय ९८ एकदिवसीय क्रिकेट खेल्याे । यसमा टिमले एक सय १८ मा जितेकाे छ । यस्तै टी–२० क्रिकेटमा उनले ७२ खेलमा कप्तानी गर्दै ४२ खेल जिताएका छन् ।
मोर्गनकाे जन्म आयरल्यान्डकाे राजधानी डबलिनमा भएकाे थियाे । उनले अन्तर्राष्ट्रिय क्रिकेटकाे सुरुवात आयरल्यान्डकाे राष्ट्रिय टिमबाट गरेका थिए । सन् २००६ अगस्ट ५ मा स्कटल्यान्डसँगकाे खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका माेर्गनले ९९ रन बनाएका थिए ।
माेर्गनले दुई सय ४८ एकदिवसीयमा १४ शतक र ४७ अर्धशतकसहित सात हजार सात सय एक रन बनाएका छन् । यस्तै एक सय १५ टी–२० मा एक सय ३६ काे स्ट्राइक रेटमा दुई हजार चार सय ५८ रन बनाएका छन् । टेस्टमा भने माेर्गनले १६ खेलमा सात सय रन बनाएका छन् ।
