काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर ललितनारायण राजवंशीले ब्याटमात्र समस्याको समाधान नभएको बताएका छन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटका लागि आफूसँग क्रिकेट ब्याट नभएको’ विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
आफूले किट्स स्पोन्सर नहुँदा आफैँले सबै कुरा व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाई छ । ‘मबाहेक पनि थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा खेलिरहनुभएका खेलाडीहरू प्रायोजकविहीन हुनुहुन्छ । कति क्षमतावान् खेलाडीहरू किट्सकै अभावमा पलायन भएका छन्, हुने क्रममा छन्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले त जेनतेन व्यवस्था गरिरहेको छु , चलिरहेको छ तर समग्र यो क्षेत्रमा प्रतिभा भएका तर आर्थिक अवस्था कमजोर भएका खेलाडीहरूको के हुन्छ ?’
उनको स्टाटस :
हालसालै मैले एक अन्तर्वातामा हामीले कृकेट खेल्दा प्रयोग हुने किट्सहरु स्पोन्सर नहुँदा आफैले सबै व्यवस्थापन गर्नुपर्दा गार्हो हुने गरेको छ भन्ने आशयले आफ्नो विचार व्यक्त गरेको थिए ।साथै मसँग हाल नेट अभ्यास गर्ने व्याट मात्र भएको र गेममा व्याटिङ्ग गर्नुपर्दा साथिहरुको लिएर गर्ने गरेको बताएको थिए ।
मेरो विचार र अभिव्यक्तिलाई लिएर आएका हजुरहरु सबैको विचारलाई नियालि रहेको छु । वास्तवमै नेपाली कृकेट समर्थकहरुको खेलाडिहरुप्रति कति विश्वास, माया र साथ रहेछ भन्ने कुरा अझै बढि महशुस गरिरहेको छु। हजुरहरु सबैको माया, विश्वास र साथले नेपाली कृकेटप्रति थप योगदान गर्न प्रेरणा मिलेको छ ।
कृकेट व्याट प्रदान गर्ने बारेमा धेरैजनाले कुराहरु गरिरहनु भएको छ । हजुरहरु सबैमा म नमन गर्दछु । यत्तिको माया र साथ सदैव पाईरहन पाउँ।
तर एउटा कृकेट व्याट समस्याको समाधान होईन । म बाहेक पनि थुप्रै राष्ट्रिय ,अन्तराष्ट्रिय स्तरमा खेलिरहनु भएका खेलाडीहरु प्रायोजक विहिन हुनुहुन्छ। कति क्षमतावान खेलाडीहरु किट्स कै अभावमा पलाएन भएका छन, हुने क्रममा छन। मैले त जेनतेन व्यवस्था गरिरहेको छु , चलिरहेको छ तर समग्र यो क्षेत्रमा प्रतिभा भएका तर आर्थिक अवस्था कमजोर भएका खेलाडीहरुको के हुन्छ ?
