काठमाडौँ । टी—२० विश्वकप छनोटको महत्त्वपूर्ण खेलअघि आफ्ना अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरी अप्रत्याशित रूपमा घाइते हुन पुगेपछि नेपाली टोली दबाबमा परेको छ । अभ्यासका क्रममा घाइते भएका दीपेन्द्रले छनोट प्रतियोगिताको सबै खेल गुमाउने सम्भावना पनि बढेको छ ।
टी—२० विश्वकपको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेल अहिले नेपालमा भइरहेको छ । आठ राष्ट्र सहभागी यो प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप खेल्ने अवसर पाउने छन् ।
छनोट प्रतियोगितामा सोमबार नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरसँग आफ्नो पहिलो खेल खेल्ने कार्यक्रम थियो । सिंगापुरविरुद्धको खेल सुरु हुनुअघि नै अभ्यासका क्रममा २३ वर्षीय दीपेन्द्र घाइते भएका थिए ।
उनको बायाँ खुट्टाको गोलीगाँठोमा गम्भीर चोट लागेको बताइएको छ । उनलाई तत्काल उपचारका अस्पताल लगिएको थियो । उनको लिगामेन्टमा समस्या देखिएको बताइएको छ । उपचारपछि वैशाखी टेकेर उनी पुनः सिंगापुरविरुद्धको खेल हेर्न कीर्तिपुर क्रिकेट मैदान पुगेका थिए ।
टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्र नेपालका सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । त्यसैले महत्त्वपूर्ण प्रतियोगिताअघि उनी घाइते भएपछि नेपाली टोलीमा चिन्ता थपिएको छ । सोमबार सिंगापुरविरुद्धको खेलमा दीपेन्द्रको स्थानमा विवेक यादवलाई खेलाइएको थियो ।
दीपेन्द्रको अनुपस्थितिमा नेपालले उक्त खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो । जारी छनोट प्रतियोगितामा नेपालले मंगलबार मलेसियासँग आफ्नो दोस्रो खेल खेल्नेछ । दीपेन्द्रलाई पूर्ण रूपमा स्वस्थ हुन केही समय लाग्नेछ ।
