काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनोट भएपछि आफूले भाग्यमानी महसुस गरिरहेको बताएका छन् ।
शुक्रबार मुलपानी मैदानमा भएको आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईमाथि ८ विकेटको जित निकालेसँगै नेपाल आगामी वर्ष हुने विश्वकपमा छनोट भएको हो।
अरू सबै खेलाडी सन् २०१४ को विश्वकप खेलेर हुर्किएको कप्तान पौडेलको भनाइ छ। ‘हाल नेपाली टिममा रहेका अधिकांश खेलाडीले (सोमपाल र विनोद दाइबाहेक) सन् २०१४ को विश्वकप हेरेका थिए। अहिले ती खेलाडी विश्वकप खेल्दैछन्,’ रोहितले भने, ‘विश्वकप खेल्ने सपना पूरा भएकोमा खुसी लागेको छ।’
यो विश्वकप छनोट प्रतियोगितामा टिममा रहेका विनोद भण्डारी र सोमपाल कामीले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेका थिए । १० वर्षपछि नेपाललाई विश्वकपमा पुर्याउने टिममा विनोद र सोमपाल बाहेक अरु सबै खेलाडी नयाँ छन् ।
