आइसिसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार नेपाल पराजित भयो । त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपालमाथि ओमानले सुपर ओभरमा जित निकालेको थियो।
यसअघि ओमान र नेपाल दुवै टिम सेमिफाइनलले जितेर टी(२० विश्वकप २०२४ मा स्थान पक्का गरेका थिए।
फाइनलमा चुके पनि नेपालका लागि सन् २०२३ राम्रो वर्ष भएको प्रशिक्षक मोन्टी देसाईले बताए। देसाई गत माघमा नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला नेपाल आइसिसी विश्वकप लिग(२ को सात टिम मध्ये छैटौं स्थानमा छन् ।
अन्तिम १२ खेल बाँकी रहदा नेपालको एकदिवसीय मान्यता समेत धरापमा परेको थियो।
आइतबार सम्पन्न टी- २० विश्वकप एसिया छनोटमार्फत नेपालले विश्वकपमा स्थान पक्का गर्यो। छनोटको फाइनल जित्न नसके पनि नेपालका लागि २०२३ राम्रो भएको प्रशिक्षक देसाइको भनाइ छ।
‘हाम्रो लागि २०२३ राम्रो भयो। हामीले फरक फरक कहानी लेख्न सफल भयौं,’ प्रशिक्षक देसाइले भने, ‘अब हामी केही आराम गरेर २०२४ मा फ्रेस स्टार्ट गरेर राम्रो प्रदर्शनलाई निरन्तरता दिन चाहान्छौं।’
