सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोस्टर र नाम सार्वजनिक गरेका छन्।
नेपालीमा भुठान र अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा कलाकार हरिवंश आचार्यका साथै दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुबन्धित भएका छन्।
यो फिल्मको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र ‘बुलबुल’कै निर्माता अविरल थापा रहनेछन् । साथै कार्यकारी निर्मातामा एल एन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् भने शैलेस मैनाली, दीपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीवभार श्रेष्ठ, नवराज पराजुलीको सह–निर्माण रहनेछ । फिल्मको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने फिल्मलाई नेपाली र अंग्रेजी भाषामा निर्माण गरिनेछ । फिल्मको छायांकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षको छ ।
यो फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल, समुन्द्र राज घिमिरेले फिल्म निर्देशनमा सहयोग गर्नेछन् ।
यो फिल्मलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्ने छ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।
