काठमाडौं । हिमालय, जसलाई हामी युगौँदेखि सेतो हिउँले ढाकिएको शान्त र मनोरम पहाडहरूको शृंखलाका रूपमा मात्र बुझ्दै आएका छौँ । यथार्थमा त्यति मात्रै हो त ? पक्कै होइन । यो त दक्षिण एसियाका करोडौँ मानिसको ढुकढुकी हो, जसले हरेक दिन पानी, खाद्यान्न, विद्युत् र समग्र जीविकोपार्जनको अटल आधार बनेर मानव सभ्यतालाई उज्यालो दिइरहेको छ । तर, प्रकृतिको यो विशाल बरदान अहिले मानव सिर्जित मूर्खता र दोहनको चरम सिकार बनिरहेको छ । हिमालय, जसले सिंगो एसियालाई प्राण दिन्छ, अहिले आफैँ तीव्र गतिमा पग्लिएर विनाशकोे बाटोतर्फ छ ।
इसिमोड र जीबी पन्त नेसनल इन्स्टिच्युट अफ हिमालयन इन्भाइरोन्मेन्टले सार्वजनिक गरेको प्रतिवेदनले हिमाल कसरी कालो डाँडोमा परिणत भएर अस्तित्व गुमाउँदैछ भन्ने यथार्थलाई उजागर गरिदिएको छ । प्रतिवेदनअनुसार, हिमालयका हिमनदीमा जम्मा भएको हिउँ पग्लिने दर एक दशकअघिको तुलनामा ६५ प्रतिशतले बढेको छ । यो प्रकृतिले मानव सभ्यतालाई बजाएको मृत्युघण्टी हो । हिउँ पग्लिने दर यसरी बढ्दै जाने हो भने हिमनदीबाट बनेका ताल फुट्ने, जमेर बसेको हिउँ पग्लिने र अस्थिर पहाडी भिरहरू खसेर सिंगो बस्ती नै चिहान बन्ने जोखिम बढेको छ । यो संकट पहाडका कुनाकन्दरामा मात्र सीमित छैन, यसले तल्लो तटीय क्षेत्रको सिंगो अर्थतन्त्रमाथि नै प्रहार गर्न थालिसकेको छ ।
हिमालहरु इसरी तिब्र गतिमा पग्लिनुको पछाडि कुनै प्राकृतिक चक्र मात्र जिम्मेवार छैन, यसमा मानव सिर्जित कारण सवैभन्दा ठुलो छ । विशेषगरी दक्षिण एसियाका मैदानी क्षेत्रबाट उडेर आउने कालो धुवाँ अर्थात् ’ब्ल्याक कार्बन’ को हिस्सा हिमालयका हिमनदी पग्लनमा करिब एकतिहाइ रहेको छ । जथाभावी चलाइएका इँटाभट्टा, पुराना गाडीका साइलेन्सरबाट निस्कने विषाक्त धुवाँ र कलकारखानाको प्रदूषण हिउँमाथि बाक्लो च्यादर बनेर बस्छ ।
प्रतिवेदनले औँल्याएको तथ्य अनुसार, दक्षिण एसियामा मानवीय गतिविधिबाट उत्सर्जित ब्ल्याक कार्बन हिमालय क्षेत्रमा जम्मा हुने क्रममा केवल उद्योग र विशेषगरी इँटाभट्टाको मात्रै योगदान ३२ देखि ४२ प्रतिशतसम्म रहेको छ । जब यी काला र विषाक्त कणहरू सेतो हिउँ र हिमनदीको सतहमा जम्मा हुन्छन्, तिनले सूर्यको किरणलाई परावर्तन गर्नुको सट्टा उल्टै अत्यधिक ताप सोस्न थाल्छन् । फलस्वरुप, हिउँ पग्लिने गति तीव्र बन्छ । एकातिर तापक्रम वृद्धि र अर्कोतिर कालो धुवाँको दोहोरो मारमा परेको हिमालय अब विस्तारै आफ्नो सेतो पहिचान गुमाएर कालो र उजाड चट्टानमा परिणत हुने चरणमा छ । जुन दुभाग्र्य र खतराको घण्टी हो ।
हिमनदीहरू यसरी अस्वाभाविक गतिमा पछाडि हट्दै जाँदा उच्च हिमाली क्षेत्रका खोँचहरूमा नयाँ र खतरनाक हिमतालहरू बनिरहेका छन् । पग्लिएको हिउँ, खुकुला चट्टान, माटो र ढुंगाको थुप्रोबाट बनेका कमजोर हिमतालहरु ज्व फुट्न थाल्छन् त्यसपछि के हुन्छ, भन्ने कुरा नेपालले पटक पटक भोगि सकेको छ । भदौ १० गते रसुवाका भोटेकोशी नदीमा आएको बाढीको कारण पनि यही हो । सानो हिमपहिरो खस्दा वा तापक्रम अलिकति बढ्दा यदि यस्ता बाँध फुटे भने, ठूलो परिमाणमा जम्मा भएको पानी सुनामीझैँ बग्न सक्छ । यसको सबैभन्दा बीभत्स र हृदयविदारक उदाहरण भदौ १० गते रसुवा र भोटेकोशी क्षेत्रमा भोगेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. महेश्वरराज ढकालका अनुसार, तापक्रम वृद्धि भएर हिउँ पग्लिँदा हिउँका ढिस्का जमिनसहित खसेका कारण उक्त विनाशकारी बाढी आएको थियो । संसदीय समितिमा ढकालले दिएको जानकारीअनुसार बाढीको सुरुवाती वेग नै १८० किलोमिटर प्रतिघण्टाको दरमा थियो । सोही बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने बेत्रावती, देवीघाट बजारलगायतका स्थानमा यसले गरेको हानि शब्दमा वर्णन गर्न सकिँदैन । त्रिशूली बजारभन्दा केही माथि पहाडको ठूलो भाग नै भत्किएर सखाप भयो ।
गृह मन्त्रालयको पछिल्लो विवरणले अनुसार भदौ १० को उक्त घटनामा १ हजार ३९५ जनाले अकालमा ज्यान गुमाए भने ५ हजारबढी अझै बेपत्ता छन् । घाइतेहरूको संख्या ९ हजार ३५८ पुगेको छ । हजारौँ परिवारको उठिबास भएको छ, उनीहरूको विगत बग्यो र भविष्य पनि त्यही धमिलो बाढीमा बिलायो । यो भयानक विपद् हिमतालमा मात्र सीमित छैन । लामो समयदेखि जमेर बसेको ’पर्माफ्रस्ट’ पग्लिनु र उच्च हिमाली भिरहरू दिनहुँ अस्थिर बन्दै जानु पनि हो ।
इसिमोडका रिमोट सेन्सिङ विज्ञ सुदन विकास महर्जनले सन् १९८० देखि २०२० सम्मको चार दशकको छोटो अवधिमै नेपालका ग्लेसियरको क्षेत्रफल करिब ३१ प्रतिशतले घटिसकेको तथ्यांक प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिमा प्रस्तुत गरेका छन् । जो आफैमा चिन्ताको विषय हो । महर्जनले याल ग्लेसियरलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पछिल्लो ५० वर्षमा आफ्नो क्षेत्रफलको करिब ६६ प्रतिशत गुमाइसकेको र ग्लेसियरको तल्लो भाग करिब ८०० मिटरमाथि सरिसकेको छ । सन् १९८२ देखि अहिलेसम्मको अवस्था हेर्दा ग्लेसियर खुम्चिने मात्र होइन, पातलिने क्रम पनि त्यत्तिकै डरलाग्दो छ । प्रत्येक वर्ष करिब ०.८ देखि ०.९ मिटरको दरले ग्लेसियर पातलिँदै गइरहेको छ ।
सन् २०१४ मा लाङटाङ भ्यालीमा गरिएको अध्ययनले ग्लेसियरमा भइरहेको परिवर्तन र तापक्रम वृद्धिबीचको स्पष्ट सम्बन्ध देखाएको थियो । लाङटाङ क्षेत्रमा ग्लेसियर परिवर्तनको दर समग्र नेपालको तुलनामा करिब २५ प्रतिशत बढी छ किनकि त्यहाँ तापक्रम वृद्धि पनि निकै तीव्र छ । यति ठूलो संकट आइसक्दा पनि राज्य र सरोकारवाला निकायहरूको चरम बेवास्ता अर्को उदेकलाग्दो पाटो हो । हिमालय क्षेत्रमा निगरानी र वैज्ञानिक अनुसन्धानको जुन शून्यता छ, त्यो आफैँमा एउटा महाविपद्को कारक बनिरहेको छ । हिन्दुकुश–हिमालय क्षेत्रमा करिब ४० हजार हिमनदी रहेको अनुमान गरिन्छ । तर तीमध्ये केवल ०.१ प्रतिशत हिमनदीको मात्र नियमित र वैज्ञानिक निगरानी भइरहेको छ । बाँकी ९९.९ प्रतिशत हिमनदीभित्र कत्रो प्रलय पाकिरहेको छ र कुन ताल कतिबेला फुट्न तयार भएर बसेको छ भन्ने अनुमान पनि लगाउन सक्ने अवस्था छैन् ।
हिमनदीबाट निस्कने पानी केवल पहाडी खोल्साहरूको गीत होइन, यो त दक्षिण एसियाको ठूलो जनसंख्याको पिउने पानी, सिँचाइ र जल सुरक्षाको बलियो आधार हो । वैज्ञानिकहरूका अनुसार अधिकांश हिमाली नदी बेसिनमा यो शताब्दीको मध्यसम्म ’पिक वाटर’ को अवस्था आउनेछ । यसको अर्थ, हिमनदी पग्लिएर नदीमा आउने पानीको मात्रा पहिले अधिकतम बिन्दुमा पुग्नेछ, जसले बाढी र डुबान ल्याउनेछ । तर त्यसपछि हिमनदीमा जम्मा भएको हिउँ रित्तिँदै गएसँगै नदीमा आउने पानीको मात्रा अकल्पनीय रूपमा घट्न थाल्नेछ । हालको यही विनाशकारी प्रवृत्ति कायम रहे यो शताब्दीको अन्त्यसम्ममा हिमनदीमा रहेको वर्तमान बरफको ८० प्रतिशतसम्म हिस्सा सदाका लागि जोखिममा पर्ने सक्ने छ ।
तर यो महाविनाशलाई टार्ने केही उपाय अझै बाँकी छन् । जलवायु परिवर्तन नियन्त्रण गर्नु विश्वव्यापी एजेन्डा भए पनि ’ब्ल्याक कार्बन’ यस्तो प्रदूषक हो, जसलाई दक्षिण एसियाका राष्ट्रहरूले चाहे भने तत्कालै नियन्त्रण गर्न सक्छन् । यसका लागि कोइला, पेट्रोल र डिजेलको अन्धाधुन्ध प्रयोगलाई रोकेर ग्रिन इनर्जीमा जोड दिनुपर्ने आवश्यकता छ । हिमनदी पग्लनमा एकतिहाइ भूमिका खेल्ने ब्ल्याक कार्बनलाई इँटाभट्टाको आधुनिकीकरण, प्रदूषण फैलाउने सवारीसाधनको न्यूनीकरणमार्फत घटाउन सकेमा मात्रै पनि हिमनदी माथिको ठूलो दबाब कम गर्न सकिन्छ । प्रतिवेदनले संकटको तस्बिर मात्र देखाएको छैन, यसले हिमालयका लागि विकासको नयाँ मोडल अपनाउनुपर्ने बाटो पनि देखाएको छ । हिमनदी, वन, पानीका मुहान र पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण गर्दै विपद् सामना गर्ने क्षमता (रेजिलेन्स) बलियो बनाउनु अबको एकमात्र विकल्प हो ।
प्रतिवेदनले १० वटा प्राथमिक परिवर्तनको सूची तयार पारेको छ जसमा ब्ल्याक कार्बन घटाउने, हिमनदी र पर्माफ्रस्टको निगरानी बढाउने, प्रारम्भिक चेतावनी प्रणालीलाई बलियो बनाउने, सुक्दै गएका मुहान पुनर्जीवित गर्ने, वनको वैज्ञानिक व्यवस्थापन गर्ने र पर्यटनलाई प्रकृतिको वहन क्षमताअनुसार मात्र व्यवस्थित गर्ने जस्ता विषयहरू समावेश छन् ।
शताब्दीयौँदेखि नदी, वन, पानी र जीविकोपार्जन प्रदान गर्दै दक्षिण एसियालाई धान्दै आएको हिमालय आज आफैँ संरक्षण र सहयोगको अलाप गरिरहेको छ । हिमनदी तीव्र गतिमा पग्लिनु, अस्थिर हिमताल बन्नु, कमजोर बन्दै गएका पहाडी भिरहरू भत्किनु, सुक्दै गएका मुहान र बढ्दो विपद्— यी सबै एकअर्कासँग जोडिएका चेतावनी हुन् । त्यसैले यी समस्यालाई छुट्टाछुट्टै रूपमा होइन, एउटै समग्र प्रणालीका रूपमा बुझ्न आवश्यक छ । किनकि हिमालयमा आज देखिएको परिवर्तनको प्रभाव भविष्यमा मैदानी क्षेत्रमा रहेका खेत, पानी, विद्युत् व्यवस्था र करोडौँ परिवारको जीविकोपार्जनसम्म पुग्ने निश्चित छ । त्यसैले, हिमालयलाई बचाउनु भनेको हिउँ र पहाडलाई बचाउनु मात्र पक्कै होइन । यो त ती करोडौँ मानिसको भविष्य सुरक्षित गर्नु हो, जसको जीवन, श्वास र आस यी पहाडबाट बगेर आउने नदीसँग जोडिएको छ ।
