दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) को प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।
कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वाेत्कृष्ट खेलाडीको अवार्ड बाँडेका छन् । समापन समारोहमा भने मेस्सीले मात्र अवार्ड ग्रहण गरे । कन्मेवलको छनोट
समितिले दुई मध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले घरेलु टोली तथा साविकको विजेता ब्राजिललाई १–० ले हराउँदै २८ वर्षपछि कोपाको च्याम्पियन बनेको थियो । यस्तै मेस्सी पनि अर्जेन्टिनाबाट पहिलो उपाधि जित्न सफल भए ।
‘मेस्सी र नेयमार कसलाई सर्वाेत्कृष्ट बनाउने यो छान्न हामीलाई सहज थिएन । उनीहरु उत्कृष्ट खेलाडी हुन् । कोपामा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्,’ कन्मेवलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उनीहरुले प्रत्येक खेलमा प्राविधिक र रणनीतिक रुपमा उत्कृष्ट खेल पस्किएका छन् । उनीहरुकै उच्च प्रदर्शनमा दुवै टोली फाइनलमा पुग्न सफल भएका हुन् । सोही कारण उनीहरु दुवै कोपाको सर्वाेत्कृष्ट खेलाडी हुन् ।’ कन्मेवलको विज्ञप्तिमा उल्लेख छ ।
मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए । मेस्सी र कोलम्वियाका लुइस डियाजले समान ४ गोल गरेका थिए । असिस्टमा मेस्सी अघि रहेकाले उपाधि जिते ।

यस्तै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक बने । उनी यो उपाधि जित्ने पहिलो अर्जेन्टिनी खेलाडी हुन् । अर्जेन्टिनाको फाइनलमा यात्रामा सेमिफाइनलमा मार्टिनेजले पेनाल्टी सुटआउटमा कोलम्वियाको ३ पेनाल्टी बचाएको थिए । फाइनलमा पनि मार्टिनेजले केही सुन्दर बचाउ गरेका थिए । दोस्रो भएको ब्राजिलले फेयर प्ले को अवार्ड जितेको छ ।
११ जुनबाट सुएउ भएको कोपामा १० टोलीले सहभागिता जनाएका थिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूहबाट शीर्ष चार टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए ।
