एजेन्सी : बार्सिलोनाका कप्तान लियोनल मेसी लामो समय क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । सन् २००४ मा बार्सिलोनाको युवा टोलीबाट सिनियर टोलीमा आएका मेसीले क्लबका लागि धेरै खेलमा जित दिलाउन सहयोग गरेका छन् ।
बार्सिलोनाका लागि मेस्सीले ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग लगायतका धेरै उपाधि जिताइसकेका छन् । लामो समयसम्म बार्सिलोनामा रहेका मेसीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलमाडीका रुपमा कीर्तिमान बनाएका छन् । उनले क्लबका लागि धेरै खेल खेल्ने खेलाडीका रुपमा पनि आफ्नो नाम स्थापित गर्न सफल भएका छन् ।
मेसी हाल फुटबल जीवनको ७०० गोल नजिक छन् । उनले हाल आफ्नो करियरको ६९९ गोल पूरा गरिसकेका छन् । मेसीले बार्सिलोनाका लागि मात्र ४७६ लिग खेल खेल्दै ४४० गोल गरेका छन् ।
हाल मेसीको बार्सिलोनासँगको सम्झौता अर्को वर्षको अन्तिममा सकिँदै छ । तर, मेसी बार्सिलोनाको सम्झौता सकिँन नपाउँदै सन् २०२३ सम्मका लागि क्लबमा नयाँ सम्झौता गर्न तयार भएको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले बताएको छ ।
