जेन्सी – ओपनर जान्नेमान मलान र क्विन्टन डि कको सानदार शतकको सहयोगमा दक्षिण अफ्रिकाले तेस्रो ओडिआई खेलमा आयरल्यान्डलाई ३ सय ४७ रनको विशाल लक्ष्य दिएको छ । भ्रमण टोली दक्षिण अफ्रिकाले डुब्लिनमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिदै निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४६ रन बनायो ।

दक्षिण अफ्रिका ओपनर जान्नेमान मलान १ सय ६९ बलमा १६ चौका र ६ छक्का सहित १ सय ७७ रनमा अविजित रहे । यो उनको अन्तर्राष्ट्रिय करिअरकै सर्वोत्कृष्ट प्रदर्शन हो । ओडिआई करिअरको दोस्रो शतक पर्दछ ।
डि कक ९१ बलमा ११ चौका र ५ छक्का सहित १ सय २० रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै क्याच आउट भए । डि ककको यो ओडिआई करिअरको १६ औं शतक हो । पहिलो विकेटका लागि डि कक र मलानले ३६.१ ओभरमा २ सय २५ रनको दोहोरो शतकीय साझेदारीका साथ उत्कृष्ट ब्याटिङ गरेका थिए । डी ककलाई सिमि सिंहले मार्क आदिरबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

रास्सी भान डर डुसेन २८ बलमा २ चौका सहित ३० रनमा क्याच आउट भए । हेनरिक क्लासेन ३ रनमा आउट भए । आयरल्यान्डका जोश लिटिलले सर्वाधिक २ विकेट लिए । सिमि सिंह र क्रेग यौंगको नाममा एक एक विकेट रह्यो ।
