काठमाडौ । आफ्नै पार्टी भित्रको अन्तरविरोधका कारण सरकार ढलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु रु ष्ट भएका छन् । उनीहरुले अहिले सामाजिक सञ्जालमा विभिन्न प्रतिकृया दिएका छन् । सामाजिक सञ्जालमा निकै सकृय रहने नेता शंकर पोखरेलले पार्टीमा शत्रुतापूर्ण रुपमा अन्तरविरोध विकास हुँदै गएको बताएका छन्।
सोमवार विहानै सामाजिक सञ्जाल मार्फत् नेता पोखरेलले एमालेमा विकास भएको शत्रुतापूर्ण अन्तरविरोधको अन्त्य नगरी अनुशासित र गतिशील पार्टी निर्माण हुन नसक्ने बताएका हुन्। उनले त्यसका लागि जुट्न सबैलाई आग्रह गरेका छन् ।
अन्तरपार्टी संघर्षका कारण कम्युनिष्टको झण्डै दुई तिहाइको सरकार समय अगावै ढलेको छ । आइतवार नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले विश्वासको मत लिँदा एमालेकै २२ सांसदले उनलाई मत दिए भने १० सांसदहरु मतदानमा सहभागी नै भएनन् । पार्टी निर्देशन विपरित आफ्नै नेताहरु यसरी लागेपछि नेता पोखरेलले दुख ब्यक्त गरेका हुन् ।
‘नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता हो, प्रतिनिधिसभा फ्लोरक्रसको घटना,’ नेता पोखरेलले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौँ।’
