काठमाडौं : नेकपा सचिवालयका बहुमत सदस्यको भेलाले भोलिको स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ ।
खुमलटार बैठकपछि अहिले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । त्यहाँ प्रचण्ड र नेता नेपालले यही कुरा राख्ने सचिवालयका एक सदस्यले जानकारी दिए ।
प्रचण्डनिवास खुमलटारमा बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म बहुमत सचिवालय सदस्यको बैठक बसेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । बैठकमा प्रचण्ड, नेता खनाल, नेपालका अतिरिक्त उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित थिए ।
बैठकले भोलिलाई तय गरिएको स्थायी कमिटी नरोक्ने निचोड निकालेको खनालले बताए । “स्थायी कमिटीको बैठक कुनै हालतमा रोक्नु हुँदैन भन्ने सल्लाह भयो खनालले बाह्रखरीसँग भने, भोलिबाट बैठक सुचारु हुन्छ ।
त्यस्तै सचिवालयका अर्का सदस्यले ओलीलाई आजसम्म मिल्न समय दिएको र भोलिबाट कमिटीको बैठक सुरु राख्ने र निर्णय गरेर तयारी भएको जानकारी दिए । गत असार १० गतेदेखि सुरु भएको बैठक १६ गतेदेखि अवरुद्ध रहँदै आएको छ ।
