सिरहा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अरु कुनै विकल्प बाँकी नरहेपछि सरकारले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा बिघटन गरी निर्वाचनमा गएको बताएका छन् ।
नेकपा सिरहाले सोमबार सिरहाको चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई षडयन्त्रमुलक ढंगले घेराबन्दीमा पारेर काम गर्न नदिने र मुलुकलाई गम्भीर संकटमा धकेल्ने देखेपछि सरकारले बाध्यात्मक अवस्थामा संसद विघटन गरी जनतामा जाने निर्णय गरेको बताएका हुन् ।
‘जनताको ६४ प्रतिशत मत पाएर निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हातखुट्टा बाँधेर कामै गर्न नदिने, हरेक कुरामा लेनदेनको कुरा गर्ने, भागवण्डा खोज्ने मात्र काम हुँदै आयो’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको हितमा, राष्ट्रको हितमा काम गर्न खोज्दा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध आरोपपत्र तयार पार्ने, संसदमा अविश्वासको प्रस्ताव दत्र्ता गराउने,राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेजस्ता षडयन्त्र भएको स्पष्ट छ ।’
त्यसैले ती सबै षडयन्त्रहरुलाई चिर्न र मुलुकमा राजनीतिक ‘कू’ लाई रोक्न सरकारले यस्तो निर्णय लिएको उनको कथन थियो ।
निर्वाचित प्रधानमन्त्रीलाई जनादेशअनुसार ५ वर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने उनको तर्क रहेको छ । अवसरवादी हर्कत गर्दै अन्तरविरोधमा खेल्ने र सत्तामा नपुगेको कुण्ठा बोकेका नेताको गठबन्धनका कारण पार्टी एकता भएको ३ वर्ष नपुग्दै विभाजनको अवस्थामा पुगेको उनले बताए ।
उनले प्रचण्ड माधव समूह दुईवटा विषयमा सहमत भए अझै पार्टी एकता जोगिने उपप्रधानमन्त्री पोखरेलले जिकिर गरे । उलने भने, ‘प्रधानमन्त्रीविरुद्ध तयार पारिएको आरोपपत्र फिर्ता लिने र निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहन सक्छ ।’
