काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरम नीति लिएको आरोप लाग्दै आएका कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार राति सानेपामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफैंले प्रधानमन्त्रीको राजीनामा माग्ने प्रस्ताव ल्याए ।
सभापति देउवाको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको छ । र, अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेसमेत कांग्रेसले निर्णय लिएको छ । सानेपा बैठकको यस्तो निर्णयपछि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिँदै आएको अलमल समाप्त भएको छ । र, अब उसले ओली सरकारको विकल्प खोज्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।
