नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेशसभा सांसद पद गुमाएका धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्षमाथि गम्भीर आरोप लगाएका छन् । उनले स्पष्टीकरणको मौकासमेत नदिएर कानुनी व्यवस्थाको धज्जी उडाउँदै जननिर्वाचित सांसदको पद अध्यक्ष प्रचण्डको सनकमा फालिएको आरोप लगाएका छन् । ‘लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन,’ रेग्मीले आफ्नो फेसबुकवालमा लेखेका छन्, ‘त्यसो त युद्धताका पार्टीमा फरकमत राख्ने नेता–कार्यकर्तामाथि कोर्टमार्सल गरिन्थ्यो, लोकतन्त्रमा त्यस्तो गर्न मिल्दैन ।’
रेग्मीले दलीय जिम्मेवारीबाट च्यूत गर्न सक्ने भएपनि जननिर्वाचित निकायबाट च्यूत गर्ने हैसियत प्रचण्डमा नरहेको दावी गरेका छन् । ‘प्रचण्ड आफै ३३ वर्षसम्म स्वघोषित पार्टी अध्यक्ष भएको तथ्य छर्लङ्ग छैन र ?,’ उनले प्रश्न गरे, ‘आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?, ३५ हजार दैलेखी मतदाताको प्रतिनिधिलाई कसैको ठाडो आदेशले पदच्युत गर्न मिल्छ ?’ उनले लोकतन्त्रमा त्यस्तो अधिकार कुनै पनि कानुनले पार्टी नेताहरूलाई दिँदैन र दिनु हुँदैन भनेका छन् ।
उनले नेकपा विवादलाई प्रचण्डको तत्कालै प्रधानमन्त्री हुने र माधव नेपालको पार्टी अध्यक्ष हुने लालसाको परिणाम उत्पन्न कृत्रिम विवाद भनेका छन् । ‘यसको प्रहसन काठमाडौमा गरिए पनि रिमोट ब्रसेल्स र नयाँ दिल्लीमै थियो,’ उनले भने, ‘पार्टी नेतृत्वमाथि कम्फरटेवल कमरेडहरुले चौतर्फी हमला गरिरहेकै बखत मैले पार्टी र सरकारको नेतृत्वको रक्षाको खातिर प्रधानमन्त्रीलाई समर्थन गरेको हुँ ।’
