विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको उल्लंघन गर्दै पसल खोलेको आरोपमा विराटनगरका १७ जना व्यापारीलाई जरिवाना गरेको छ ।
कोभिड १९ संकट व्यवस्थापन अध्यायदेश २०७८ उल्लंघन गरेको आरोपमा उनीहरुलाई जनही ५ हजार देखि ३० हजार रुपैयासम्मको जरिवाना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिएका छन् ।
स्थानीय प्रशासनको पटक पटकको आग्रहलाई अटेर गरेर पसल संचालन गरेका ४ जना व्यपारीलाई ३० हजारका दरले जरिवाना गरिएको छ, भने ९ जनालाई ५ हजारदेखि २५ हजार रुपैयासम्मको जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
त्यसैगरी निषेधाज्ञाको बेला पसलमा बसेर मदिरा सेवन गरेको आरोपमा ११ जनालाई २ सय रुपैयाका दरले जरिवाना गराएका छन् । निषेधाज्ञाको उल्लङ्घन गर्दै हिड्ने सवारी साधनलाइ पनि जरिवाना गर्न थालिएको छ ।
दुई पांग्रेलाई २ हजार अन्य सवै सवारी साधनलाई ५ हजारसम्म जरिवाना गर्न सकिने र व्यक्तिलाई एक लाखसम्म, संस्थालाई ५ लाख सम्म जरिवाना गर्न सकिने अध्यादेशमा उल्लेख रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।
मोरङमा एक महिनाको अवधिमा निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधन तथा मानिसबाट १७ लाख १५ हजार ७ सय राजस्व संकलन गरिएको जिल्ला प्रशासासन कार्यालयले जानकारी दिएको छ ।
