सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ । राति ९ः४५ बजे कुवेतको राजधानी कुवेत सिटीमा हुने उक्त खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने योजनामा हुनेछन् ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । यसअघिको खेलमा नेपालले चाइनिज ताइपेईमाथि २–१० गोलको जित निकालेको थियो ।
४५ डिग्री सेल्सियस माथिको कुवेतको गर्मी मौसम दुवै टोलीका लागि चुनौती हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतको मौसममा खेल्न कठिन हुने जनाएका छन् ।
यसअघि नेपाली टोलीले शनिबार विश्वकप छनोटको तयारीस्वरूप इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । इराकको मैदानमा ६–२ गोल अन्तरको हार ब्यहोरेको थियो । विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ । समूह बी मा रहेको नेपाल तीन अंक जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनीज ताइपेइ अङ्कबिहीन छ ।
समूहको शीर्ष स्थानमा १२ अंकका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अंकसहित कुवेत रहेको छ । यस्तै १० अंकका साथ जोर्डन तेस्रो स्थानमा छ । विश्व फुटबल महासंघ ९फिफा०को बरियतामा अष्ट्रेलिया ४१औं स्थानमा, जोर्डन ९५औं, चाइनिज ताइपेइ १४१औं तथा नेपाल १७१औं स्थानमा छ ।
नेपाली टिमः
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा
