काठमाडौँ — चन्द्रपुर नगरपालिका–१ का ३१ बर्षिया शेरापसिंह गोलेको हात मेसिनले पेलिदिदाँ भाँचियो । त्यतिखेर मलेसियाको सेलेङ्गार सालमस्थित अमेरिकी कम्पनी गुडइयर टायर एण्ड रबर उद्योगमा गोलेले काम सुरु गरेको पाँच महिनामात्रै पुग्दै थियो ।
च्यापिएर भाँचिएको हात निको हुन ५ महिना लाग्यो । त्यो समयमा उनलाई कम्पनीले तलब दिएन । बिमा वापतको क्षतिपुर्ति पनि पाएनन् । ‘महिनामा खाना खानमात्रै २/३ सय रिंगेट दिन्थ्यो,’ उनले कान्तिपुरसँग भने, ‘उचित उपचार पाइएन ।’ कम्पनीले हातको प्लास्टर खोल्नसमेत अस्पताल लगेन ।
‘मेरो सुपरभाइजर डेर्नमार्कका नागरिक थिए । उनले जस्ता काट्ने कैंची लिएर आए । १५ मिनेटसम्म बाल्टिनको पानीमा हात डुबाउन लगाए ।
तैपनि प्लास्टर काट्नै सकेनन् । पछि एकजना तामिलको घरमा पुगेपछि उनले हृयाक्सोब्लेडले बल्लतल्ल काटेर फालिदिए,’ उनले भने, ‘अमेरिकी कम्पनीले यस्तोसम्म हर्कत गर्छ भन्ने सोचेकै थिइनँ ।’
गोलेले काम गरेको गुडइयर विश्वको ठूलो टायर उत्पादक अमेरिकी कम्पनी हो । कामदारहरु मेसिनसँग खेल्नुपर्दथ्यो । तालमेल मिलेन भने मेसिनले कसको हात लुछिदिन्छ पत्तो हुँदैनथ्यो । गोलेको जसरी नै यहाँको मेसिनले राम पुकार, इन्द्र बुढाथोकी, राम तरामुको हात पेलिदियो ।
यसरी दुर्घटनामा पर्ने भारत, म्यानमार र बंगलादेशका कामदार सूची पनि लामै छ । ‘मेरो हातमा तिघ्राको मासु ल्याएर हालिदिएको छ । अरुले औंलामा सानो चोट लाग्दा पनि क्षतिपुर्ति पाएको छ ।
हाम्रो हातै काम गर्न नसक्ने हुँदा पनि कम्पनीले बिमाको रकमसमेत दिएन,’ बुढाथोकीले भने ।
गुडइयरमा विदेशी कामदारलाई भेदभाव गरिएको र उजुरी परेको विषयमा रोयटर्सले पनि समाचार प्रकाशित गरेको छ ।
जुन १ मा प्रकाशित रोयटर्सको समाचारमा मलेसियाको गुडइयर फ्याक्ट्रीमा कामदारमाथि भेदभावको आरोप लागेको उल्लेख छ ।
२०२० मा पनि यो कम्पनीविरुद्ध उजुरी परेको र यसलाई कारबाही गरी जरिवाना गराइएको मलेसियाको श्रम विभागका अधिकारीले रोयटर्सलाई बताएका छन् ।
