काठमाडौं : सरकारले लकडाउनकै बीचमा आर्थिक गतिविधिलाई सुचारु गर्ने तयारी गरेको छ। शनिबार बसेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा आर्थिक क्रियाकलाप सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकमा आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय र अत्यावश्यक सेवाका क्षेत्रमा सहजता दिलाउँदै जाने विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय सचिव नारायण विडारीले जानकारी दिए।
लकडाउन लम्बिदै जाँदा आर्थिक क्रियाकलापसमेत ठप्प भएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने तयारी गरिरहेको छ। सोही अनुसार चरणवद्ध रुपमा आर्थिक क्रियाकलाप सञ्चालनका लागि सरकारले सहजिकरण गर्नेगरी छलफल अगाडि बढाएको सचिव विडारीको भनाइ छ।
आर्थिक क्रियाकलाप सञ्चालन गर्ने विषयमा तयार भएको मस्यौदामा छलफल भए पनि निर्णय भइनसकेको सचिव विडारीको भनाइ छ।
२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन जेठ ३२ गतेसम्म गर्ने सरकारको निर्णयप्रति केही व्यवसायी आक्रोशित बनेर उद्योग खोल्न थालेका छन्। व्यवसायीले दबाब दिएपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी स्वरुप छलफल थालेको हो। प्रधानमन्त्री केपी ओलीले अघिल्लो मन्त्रिपरिषद् बैठकमा लकडाउनको मोडालिटिबारे स्पष्ट खाका ल्याउन उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेललाई निर्देशन दिएका थिए।
