कोरोनाको कम जोखिम भएका जिल्लामा जेठ २५ गतेवाट छोटो दुरीका सवारी साधन सञ्चालन हुने भएको छ । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारलाई यस्तो प्रस्ताव गरेको हो।समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम ससंक्रमित भएका जिल्लामा जेठ २५ गतेवाट यातायात साधन सञ्चालन गर्न प्रस्ताव गरेको छ । लामो समय देखिको लकडाउनका कारण सर्वसाधारणको जनजिवन प्रभावित भइरहेको बेलामा समितिले यस्तो प्रस्ताव ल्याएको हो।
कोरोनाको अत्याधिक जोखिम रहेका क्षेत्रमा मात्र लकडाउन कडा बनाइ कम जोखिम भएका क्षेत्रमा विस्तारै लकडाउन खुकुलो बनाउँदै लैजानु पर्ने प्रस्ताव समितिले गरेको हो।समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट अर्को जिल्लामा जान नपाइने गरी सञ्चालन गर्न दिने प्रस्ताव गरेको हो । सवारी साधन चलाउँदा पनि सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने छ । कोरोना फैलने जोखिम हुने भएकाले यातायात साधनमा भिडभाड गर्न पाइने छैन।
यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव पनि समितिले गरेको छ । त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरु मात्र चढाउने गरी अन्तरिक हवाइ सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ।तर, कोरोना सं’क्रम’णको सयभन्दा बढी केसहरु भएका जिल्लामा भने लकडाउन यथावत राख्नुपर्ने समितिको ठहर छ । यो प्रस्ताव मन्त्रीपरिषदले पारीत गरेपछि मात्र लागू हुनेछ।
लकडाउनको मोडालिटीमा अझै अलमल
उच्चस्तरीय समितिको शनिबार बसेको बैठकमा संयोजक ईश्वर पोखरेलले सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका छन् । त्यस्ता जिल्लामा पसलहरु खोल्ने, सैलुन खोल्ने, आधा यात्रु राखेर छोटा दुरीका सवारी चलाउने उनको प्रस्ताव छ ।
असार १ बाट अधिकांश व्यवसाय, अन्तरिक हवाई उडान, धार्मिकस्थल, सपिङ मल र आधा यात्रु राखेर लामो दुरीका सवारी साधन चलाउने पोखरेलको प्रस्ताव छ । असार १७ गतेपछि लकडाउन थप खुकुलो बनाउने र शैक्षिक संस्थाहरुसमेत खोल्ने पोखरेलको प्रस्तावमा उल्लेख छ ।
पोखरेलको प्रस्तावबारे छलफल भए पनि शनिबार कुनै निर्णय हुन सकेन । समितिमा एक सदस्यका अनुसार उच्चस्तरीय समितिमा ‘गोप्य’ भन्दै मन्त्रीहरुलाई दिइएको योजनाबारे सदस्यहरुले मौखिक सुझाव दिएका छन् । र, भोलिसम्म लिखितरुपमा सुझाव दिन भनिएको छ ।
गत साता लकडाउन थप गर्न बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा उच्चस्तरीय समितिलाई लिएको थियो । तर, जेठ ३२ सम्म तोकिएको लकडाउन सिद्धिन लाग्दा पनि समितिले मोडालिटीलाई अन्तिम रुप दिन सकेको छैन ।
सरकारले लकडाउनको मोडालिटी तयार पार्न नसकिरहेका बेला एकातर्फ पसल/व्यवसायहरु खुल्न थालेका छन् भने अर्कातिर कोरोना संक्रमण ह्वात्तै बढिरहेको छ । शनिबार एकैदिन ३२३ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ३२ सय नाघेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
