काठमाडौं । नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको प्रविधि हो । यस्तो किसिमको प्रविधि एसियाको नौ ठाउँमा मात्रै उपलब्ध छ । सांसद डा. सुनिल शर्माले आफ्नै अस्पताल बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याएका हुन् ।
सांसद शर्माले गरिब परिवारको निशुल्क स्वास्थ्य उपचारदेखि अत्याधुनिक स्वास्थ्य सामाग्रि खरिद गर्नेसम्मका काम गरिरहेका छन् । नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका शर्माले क्यान्सर उपचारमा नयाँ मापदण्ड स्थापित गर्दै रेडिएसन थेरापी सेवा सुरु गराएका हुन् । जुन उपकरण ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर निर्माण गरिएको नयाँ भवनमा अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ ।
भेरियन कम्पनीको अत्याधुनिक रेडिएसन थेरापी ‘एज’ उपकरण नेपालमा पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ । यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ । आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ ।
ब्राकी थेरापीले विनादुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । रेडिएसन थेरापीका लागि विशेष बङ्करसहितको भवन निर्माण गरिएको छ भने ओपीडी, डे केयर, केमो थेरापी, शल्यक्रिया लगायतका सेवा सञ्चालनमा छन् ।
नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिनेछ । नोबेल मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माको हो । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन्।
शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन्। शर्मा को काठमाडौंको सिनामगलस्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनतालाई निशुल्क उपचार गर्दै आएका छन्।
