नेपाली बक्सअफिसमा तिहारको बक्सअफिस समीकरण रोचक हुने देखिएको छ । चार घरेलु फिल्मसहित हलिउडको प्रतीक्षित ‘ब्ल्याक आडम’ कात्तिक ४ गते प्रदर्शन तयारीमा छन् ।
तिहार छेको भएकाले पनि आकर्षक कमाइ हुने स्वार्थमा निर्माताले उक्त मितिमा फिल्मलाई प्रदर्शन गर्न लागेका हुन् । दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ले बुधबार बेलुका प्रेसमिट गर्दै कात्तिक ४ लाई प्रदर्शन मितिको रुपमा तय गरेको छ ।
दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका रहेको यो सोसल ड्रामा लाइनअपलाई लिएर प्रतीक्षित छ । यस्तोमा, सोही मितिमा दयाहाङ र सौगात मल्लको अर्को फिल्म ‘२ नम्बरी’समेत प्रदर्शन हुनेछ ।
सन्तोष पन्तको ‘नालापानी’ र सलोन बस्नेतको ‘मिलन’ पनि सोही मितिमा प्रदर्शन हुनेछ । एउटै मितिमा दयाहाङका दुई फिल्मले प्रदर्शन मिति तय गरेपछि असमाञ्जस्यताको स्थिति सिर्जना भएको छ ।
एउटै मितिमा एउटै स्टारको दुई फिल्म आउनु कलाकारको निजत्व र फिल्मको व्यवसायिक भविष्यलाई जोखिमपूर्ण मानिन्छ । साथै, पब्लिसिटीमा हिँड्न पनि कलाकारलाई नैतिक समस्या हुन्छ ।
परस्त्री फागुन १९ मा
निर्मात्री शर्मिला पाण्डेले बुधबारको प्रेसमिटमा आफू निर्मित फिल्म परस्त्रीको प्रदर्शन मिति घोषणा गरिन् । उनका अनुसार यो फिल्म फागुन १९ मा रिलिज हुनेछ ।
दीपेन्द्र के खनालको ‘के घर के डेरा’ कात्तिक ४ गतेको मितिमा आउने जनाउँदै उनले सुरज पाण्डेको डेब्यु निर्देशन रहने ‘परस्त्री’को डेटबारे पनि कुरा गरिन् । तर, प्रेसमिटमा निर्देशक खनाल उपस्थित भएनन् । उनको अनुपस्थिती कात्तिक ४ गते सिर्जना भएको असहज स्थितीलाई एउटा अर्थपूर्ण सन्देश हो ।
