काठमाडौं : के तपाईं पनि कोरोना बिमा गर्ने तयारीमा हुनुहुन्छ ? गत बिहीबार कोरोना बिमालेख नगर्न निर्देशन दिएको बिमा समितिले भोलिपल्टै निर्णय उल्ट्याएको छ।सकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् कर्मचारीको बिमा गराउने र सामूहिक कोरोना बिमामा अनुदान दिने घोषणा गरेको थियो।संसद्मा बजेट प्रस्तुत भएको एक सातामै समितिले यस्तो बिमालेख जारी नगर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले इन्कार गरेको बिमा समितिका एक अधिकारी बताउँछन् ।
‘बिमक संघले पुँजीको अनुपातमा कोरोना बिमाको दायित्व बढी भयो भनेर स्थगित गर्न भने।त्यसपछि समितिले केही समयका लागि स्थगित गरेको हो’, ती अधिकारीले भने।तर, बिमालेख स्थगित गर्ने निर्णय बजेटमा प्रस्ताव गरिएको विषयमाथि प्रतिकुल हुने भन्दै अर्थ मन्त्रालयले निर्णय उल्ट्याउन भनेको समितिका ती अधिकारीले जानकारी दिए ।
समितिले शुक्रबारदेखि नै पुनः सोही प्रकारको बिमालेख जारी गर्न भनेको छ।तर, २३ जेठपछि जारी हुने बिमालेख आगामी चैत मसान्तसम्म मात्रै कायम रहनेछ।यसअघि भने १ वर्ष अवधिको लागि बिमालेख जारी भएको थियो ।
मुलुकभर कोरोना भाइरस संक्रमणको पुष्टि हुने क्रम बढ्दै जाँदा यस्तो बिमा गर्नेको संख्या पनि ह्यात्तै बढेको छ।पछिल्ला दिन दैनिक १० देखि १२ हजार जनाको कोरोना बिमा भइरहेको बिमा कम्पनीले जनाएका छन्।यस्तो अवस्थामा ‘प्रडक्ट’ नै बन्द गर्दा समस्या हुने भन्दै अर्थ मन्त्रालयले आग्रह गरेपछि बिमा क्षेत्रको नियामक निकाय रातारात आफ्नो निर्णय उल्ट्याउन सहमत भएको हो ।
बिमा क्षेत्रका अधिकारीहरूले बिमा समितिमा बिमक संघ अर्थात् बिमा कम्पनीका प्रमुख कार्यकारीहरूको बढी प्रभाव भएकाले नियामक निकायले ‘कच्चा निर्णय’ गरेको बताउँछन्।‘सुरुमा नेपालीलाई कोरोना लाग्दैन, यहाँ जाँच पनि हुँदैन भन्ने अनुमानका आधारमा बिमा कम्पनीहरूले ठूलो व्यापार गर्ने लोभले यस्तो प्रडक्ट ल्याउन उक्साए’, एक बिमा कम्पनीका सीईओ भन्छन्, ‘अहिले संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएपछि कम्पनीहरू नै यसलाई रोक्न नियामक गुहार्न पुगे ।’
बिमा समितिका अनुसार हालसम्म ३ लाखभन्दा धेरैले कोरोना बिमा गराइसकेका छन्।यसबाट २० करोड रुपैयाँभन्दा बढी प्रिमियम बिमा कम्पनीहरूले उठाइसकेका छन्।तर यसमध्ये धेरै बिमा कर्पोरेट क्षेत्रबाट भएकाले हालसम्मको संक्रमण पुष्टि भएकामध्ये बिमा दाबी निकै कम भएको समितिका अधिकारी बताउँछन् ।
